अचेल दिउँसोको समयमा पनि हेडलाइट बालेर कुदिरहेका गाडी तथा बाइक तपाईँले देख्नुभएको होला । यस्तो देख्दा चालकले अन्जानमा हेडलाइट बालेका हुन् भन्ने लाग्न सक्छ । तर, यस्तो होइन ।

अचेलका गाडीहरूमा नियतवश नै दिउँसो पनि बलिरहने हेडलाइट जडान गरिएको हुन्छ । यसलाई डीआरएल (DRL) अर्थात् ‘डे टाइम रनिङ लाइट अथवा ल्याम्प’ (Day Time Running Light or Lamp) भन्ने गरिन्छ ।

सवारीमा यसरी दिउँसोको समयमा समेत बलिरहने लाइट किन प्रयोग गरिन्छ त ? यसले सवारी साधनको परफर्मेन्स, ब्याट्री वा अन्य प्रणालीमा असर पार्छ कि पार्दैन ? यस सामग्रीमा हामी यही विषयबारे चर्चा गर्नेछौं:

डीआरएल प्रविधि मुख्यत: दिउँसोको समयमा हुनसक्ने सडक दुर्घटनालाई कम गर्न प्रयोगमा आएको प्रणाली हो । यो प्रणालीको सुरुवात सन् १९७० को दशकमा उत्तर युरोपका स्क्यान्डिनेभिया क्षेत्र अर्थात् नर्वे, स्विडेन र डेनमार्कबाट भएको हो । यी क्षेत्रमा दिउँसोको समयमा पनि सामान्यतया ‘भिजिबिलिटी’ कम हुने गर्छ ।

१९७० को दशकदेखि सुरु भएको डीआरएल प्रविधिले सडक दुर्घटनामा प्रभावकारी छ भन्ने विभिन्न अध्ययनले देखाएपछि भने यसले विश्व बजारमा व्यापकता पाउन थालेको हो । सन् १९७७ मा स्विडेनमा गरिएको एक अध्ययनका अनुसार डीआरएल प्रणालीले दिउँसो हुने सडक दुर्घटनामा १० प्रतिशतसम्म कमी ल्याउने देखाएको छ ।

यस्तै सन् १९९० मा क्यानडामा भएको अर्को अध्ययनले पनि यो प्रविधिले दिउँसो हुने सडक दुर्घटनामा ५.३ प्रतिशतले कमी ल्याएको देखाएको छ ।

डीआरएल प्रणालीले चालकको ‘भिजिबिलिटी’ बढाई , स्वयं तथा अन्य सवारी चालक र पैदलयात्रीलाई सजग र चनाखो बनाउने हुँदा यसले दुर्घटनामा कमी ल्याउने विश्वास गरिन्छ ।

यसरी डीआरएल प्रणालीको व्यापकता अध्ययनहरूमा मात्र सीमित भने छैन । सन् २०११ मा युरोपियन युनियनले नयाँ बन्ने गाडीहरूमा डीआरएल अनिवार्य गरेपछि यसलाई अन्य देशले पनि अनुसरण गर्न थाले ।

हाल यूरोपियन युनियनका साथै क्यानडा, अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड र नर्वेमा हरेक सवारी साधनमा यो प्रणाली जडान हुनुपर्ने प्रावधान रहेको छ । नेपालको सन्दर्भमा भने यो प्रणालीलाई अनिवार्य नगरिए पनि वर्तमान समयमा आयात हुने अधिकांश गाडीहरूमा यो प्रणाली पहिल्यै जोडिएको हुन्छ ।

यस प्रणालीले सवारी साधनको परफर्मेन्स’, ब्याट्री वा अन्य प्रणालीमा असर पार्छ कि पार्दैन त ?

बत्ती बाल्नको लागि सवारी साधनकै ऊर्जा स्रोत प्रयोग हुने भएकाले यसले माथि उल्लेखित पक्षहरूमा न्यूनतम असर भने अवश्य पार्छ ।

डीआरएल प्रणालीमा प्रयोग हुने बत्तीहरू सामान्यतः थोरै पावरका हुने गर्छन् । यसले ५ देखि १० वाट खपत गर्ने बताइन्छ , जब कि औसत अन्य हेडलाइटले ५५ वाट खपत गर्ने बताइन्छ । यसले इन्जिन लोडमा पनि न्यूनतम असर पार्ने बताइन्छ ।