आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो।

अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। अफगानिस्तानलाई हराउँदा नेपालका आकाश चन्द प्लेयर अफ द म्याच भए। उनले अफगानिस्तानका ५ विकेट लिएका थिए।

टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन पुगे। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे।

नेपालका लागि ओपनर अर्जुन कुमालले १० रन जोड्दा बिपिन रावल २ रनमै आउट भए। १२ बल खेलेका गुल्शन झा मात्रै १ रनमा बोल्ड भए।

त्यसपछि आएका कप्तान देवले नेपालको इनिङ सम्हाल्दै जितसम्म डोहोर्‍याएका हुन्। दीपक बोहोरा टोलीलाई ६ रन आवश्यक भएको अवस्थामा २७ रन जोडेर आउट भए।