विश्व मृगौला दिवस आज, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ।

प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ।

मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, नेशनल किड्नी सेन्टर र काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात् अंग दान गराउने अस्पतालहरूको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम हुदैछन्।

अहिले बिहान काठमाडौंको रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरिदैछ। पदयात्रा दशरथ रंगाशालामा पुगेपछि प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरू बीचमैत्रीपूर्ण फुटबल हुनेछ। त्यसपछि मिर्गौला दिवस सम्बन्धी औपचारिक कार्यक्रम हुनेछ।

चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मृगौलासम्बन्धी रोग लाग्ने गर्छ । नेपालमा पछिल्लो समय मृगौलाका रोगी दिनानुदिन बढिरहेको छ।

मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ । मृगौला स्वस्थ राख्न अपनाउन सकिने जीवनशैली यस्ता छन् :

नुनको मात्रा कम गर्ने

नुनमा हुने सोडियमले रक्तचाप बढाउन मद्त गर्दछ जसले मृगौला खराब बनाउदै लैजान्छ । यसले मृगौलामा पत्थरी हुने खतरा बढाउँछ । जसले गर्दा पिसाब फेर्दा समस्या हुने तथा टाउको दुख्ने हुन्छ । त्यसैले स्वस्थ मृगौलाका लागि हामीले दैनिक खानामा नुनको मात्रालाई कम गर्नुपर्छ ।

प्रशोधित खानेकुरा नखाने

मृगौला खराब बनाउने अर्को कारण प्रशोधित तयारी खानेकुरा पनि हो । प्रशोधित तयारी खानेकुरामा उच्च मात्रामा सोडियम र फोस्फोरस हुने गर्दछ । जसले गर्दा हाड तथा मृगौला खराब गर्दछ । यी दुबै मृगौलाका लागि घातक हुन्छ । हामीले दैनिक जीवनमा प्रशोधित खानालाई कम गर्नुका साथै सकेसम्म घरकै खानामा जोड दिनुपर्छ ।

धुम्रपान नगर्ने

मृगौलालाई स्वस्थ राखि राख्ने हो भने धुुम्रपान गर्ने आदतलाई छोड्नुपर्छ । धुम्रपानले रक्तचाप र मधुमेहको खतरा बढाउँछ । यसले मृगौलामा रगतको प्रवाह न्यून बनाउँछ जसले गर्दा मृगौला खराब हुन्छ । त्यसैले मृगौला खराब हुनबाट जोगाउन यसको सेवनबाट टाढै रहनुपर्छ ।

पानी प्रशस्त्र पिउने

पानीमा अधिक शक्तिशाली क्षमता हुन्छ । यसले मृगौलाको कार्यक्षमता राम्रो राख्दछ । यही प्रक्रियाबाट नै शरीरको फोहोर र विकारयुक्त चिज शरीरबाट निस्कने गदर्छ । त्यसैले स्वस्थ मृगौलाका लागि दिनमा कम्तीमा ३ देखि ५ लिटर पानी पिउनुपर्छ ।

मासुको प्रयोग कम गर्ने

मासुमा प्रोटिन हुन्छ, तर मासुमा हुने प्रोटिनले रगतमा अम्लको मात्रा बढाउँछ । जसका कारण अम्लले गर्दा राम्रोसँग काम गर्न सक्दैन् । मासुको प्रयोग सिमित मात्रामा गर्दा फाइदाजनक भए पनि अधिक प्रयोगले हानि गर्दछ । त्यसैले ठिक्क मात्रामा मासुको प्रयोग गरियो भने पनि मृगौला बिग्रनबाट जोगिन सकिन्छ ।