धार्मिक एवं लोकआस्थाको पर्व छठ आज (शुक्रबार)देखि विधिवत् रूपमा सुरु भएको छ।

खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।

भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्।

पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाइन्छ। त्यसपछि घरको देवीदेवतालाई चढाइएको खीर प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।

भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ।

त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ।

छठ पर्व मनाउँन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुघ्र बनाउने, टेन्ट टाँग्ने क्रम सुरु भइसकेको छ।

काठमाडौंका विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम शुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए।

छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन्। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ। पर्व सुरू भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ। पर्वले घर–घरमा व्यस्तता बढाएको छ। पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन्।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्त्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्।

यस पर्वमा सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारीलगायत सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो व्रत एकपल्ट लिएपछि प्रत्येक वर्ष लिनुपर्छ भन्ने मान्यता छ।

आफ्नो तथा परिवारको मनोकांक्षा पूर्ति, आरोग्यता, सुख र शान्ति प्राप्तिका लागि यो व्रत लिने गरिन्छ।

परिवारमा कोही उपवास बस्न नसक्ने अवस्थामा छन् भने व्रत व्यत्तिःले उनीहरूका तर्फबाट प्रसाद सूर्यलाई अर्पण गर्न सकिने धार्मिक व्यवस्था छ।

छठ पर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो। सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ।