मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन आज (शनिबार) देशभरिका शिवालयसँगै काठमाडौँस्थित पशुपति मन्दिर क्षेत्रका पनि शतबीज छरिएको छ।आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेवनजिकै पुगेर शतबीज छरिएको हो।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।
शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो। बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसी दीपदान गरेका थिए।