नारायणी नदीकिनारमा हुन लागेको ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’को तयारी सकिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको महोत्सवको भोली भव्य समारोहका बीच उद्घाटन हुँदैछ ।

महोत्सवको उद्घाटन हुनुपूर्व क्याम्पाचौरबाट झाँकीसहितको बृहत् -याली निकाल्ने तयारी भएको आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । जिल्लामा बसोवास गर्दै आएका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित जातीय पहिचान झल्किने संस्कृति देखाउँदै महोत्सवस्थल प्रवेश गर्नेछन् ।

२०७८ सालको जनगणनाअनुसार चितवन जिल्लामा आदिवासी जनजातिका ३९ जातिको बसोवास रहेको पाइएको छ । त्यसमध्ये १७ जाति संगठित भइसकेका छन् । ती सबै जातिलाई महासंघसँग सम्बन्ध स्थापित गराउनका लागि पनि महोत्सवले विशेष भूमिका खेल्ने आयोजकको दाबी छ । महोत्सवलाई आदिवासी जनजातिमय बनाउनका लागि जनजाति परिसर निर्माण गरिएको छ । ११ वटा जातजातिले सांस्कृतिक घर निर्माण गरेका छन् ।

उनीहरुको घरभित्र दैनिक प्रयोजनमा आउने सरसामानसमेत राखिएको छ । महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रुपमा परिचय दिलाउनका लागि पनि पुराना सामग्री प्रदर्शनमा राखिएको मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए । यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ ।

महोत्सवमा ३०० भन्दा बढी व्यावसायिक स्टल राखिएको छ । संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवद्र्धनका लागि पनि महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए । पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब एक करोड रूपैयाँबराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा आदिवासी जनजातिका परिसरसँगै व्यापारिक कक्ष, बाल उद्यानसमेत निर्माण गरिएको छ । आदिवासी जनजातिका सबै समुदायको सांस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवका सांस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर)ले जानकारी दिए ।

उनका अनुसार प्रत्येक दिन हरेक जातिको सांस्कृतिक प्रस्तुतिले मञ्च तताउने छ । त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।

नगर समितिको ऐक्यबद्धता

महोत्सवलाई सफल पार्न आदिवासी जनजाति महासंघ भरतपुर महानगर समन्वय परिषद्ले पनि ऐक्यबद्धता जनाएको छ । नगर समितिले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर महोत्सव सफल तुल्याउन महानगरवासीलाई सोहीअनुसार समन्वय गरिएको महानगर समन्वय परिषद्का अध्यक्ष अजयकुमार तामाङले जानकारी दिए ।

महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हुँदा नगर समितिबाट पनि ऐक्यबद्धता जाहेर गरिएको उनको भनाइ छ । ‘महोत्सवले आदिवासी जनजाति समुदायको समग्र इतिहाससहित पहिचान बोकेको छ’, उनले भने, ‘त्यसकारण जसरी भए पनि महोत्सव सम्पन्न गर्नुछ ।’ यो महोत्सवले आदिवासी जनजातिको जीवन र संस्कार नै बोकेको हुँदा अन्य मेला–महोत्सवको तुलनामा यो महोत्सव पृथक् रहेको उनको दाबी छ ।

नारायणी नदीकिनारमा हुने महोत्सवका लागि आदिवासी जनजातिको गाउँ नै निर्माण गरिएको हुँदा समग्र चितवनका आदिवासी जनजाति मिलेर बसेको गाउँ हेर्न पनि महोत्सवको अवलोकन गर्नु आवश्यक रहेको अध्यक्ष तामाङले जानकारी दिए । ‘यो महोत्सव अवलोकन गर्न पाउनु पनि एउटा मह¤वपूर्ण अवसर हो’, उनले भने, किनकि आदिवासी जनजातिको यथार्थ बुझ्न पनि महोत्सवले विशेष भूमिका खेल्नेछ ।’-chitwanpost