सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोशी, मधेश र बागमती प्रदेशमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ।

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी मधेस प्रदेशको तराई भूभागका केही स्थानसँगै कोशी र लुम्बिनी प्रदेशको पनि तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार राति मधेस र कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।