नेपालमा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ। सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला परेको दिन मे २९ लाई हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ।

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

नेपालमा सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो। पहिलो सगरमाथा आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भएको थियो। हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो।

सरकारले सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ।

दिवसका अवसरमा पर्यटन विभागले आज कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्दैछ। सगरमाथा आरोहणको ७१ वर्षको अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।

पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये अहिलेसम्म आरोही र सहयोगी गरी ६ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्।

विश्वप्रसिद्ध आरोही कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन्।

नेपालकी अर्की आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीन पटक आरोहण गरेर नयाँ कीर्तिमान बनाएकी छिन्। गएका केही वर्ष कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहण अहिले बढ्दै गएको छ।

७१ वर्षअघि अप्ठ्यारो बाटो छिचोल्दै सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खबर नेपालीले पाँच दिनपछि मात्रै पाएका थिए।

सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन्। जसमध्ये ५१९ जना महिला रहेका छन्।

आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छ। सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै पनि आरोही सगरमाथा चुचुरोमा पुगेनन्।

त्यस्तै २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको थियो। पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२३’ का अनुसार सन् २०२२ सम्म ३६ वटा विषयमा सगरमाथामा कीर्तिमान कायम गरिएको छ ।