सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।
कांग्रेस निकट पूर्वमुख्यसचिव रेग्मी एमालेको जोडबलमा राजदूत भएका हुन् । मुख्य सचिवबाट केही समय पहिला बिदा हुने क्रममा सरकारले उनलाई बेलायतका लागि राजदूत बनाएको थियो । कार्याकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनी पछिल्लो समय एमाले नेतृत्वसँग नजिक भएका थिए ।
अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । मुख्य सचिव बन्ने लाइनमा रहेका उनले त्यो अवसर पाएनन् । त्यही कारण अहिले उनलाई अमेरिका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् ।
बेलायतका लागि डा. विजन पन्त सिफारिस भएका छन् । डा. पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।
यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।
मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।
डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् ।
त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।