इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेको करिब एक घण्टापछि इजरायलले लेबनानको राजधानी बेरुतमा मिसाइल प्रहार गरेको छ। जसमा ६ वटा भवन पूर्णरुपमा भत्किएका छन्।

ती मध्ये एउटा हिजबुल्लाहको मुख्यालय रहेको बताइएको छ। आक्रमणमा छ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन्।

नेतन्याहुले शुक्रबार राति ८ बजे राष्ट्रसंघमा सम्बोधन गरेका थिए। त्यसको एक घण्टापछि बेरुतको एक आवासीय क्षेत्रमा हमला गरिएको बताइएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हागारीले हिजबुल्लाह नेता हसन नसरल्लाह हमलाको घटनास्थलमा रहेको बताएका छन्। उनको हत्या भएको हो वा होइन भन्ने अहिलेसम्म खुलेको छैन।

उनले हिजबुल्लाहको मुख्यालय जानाजानी जनसंख्या भएको क्षेत्रको बीचमा बनाइएको बताए। ताकि त्यहाँ आक्रमण गर्न नपाइयोस्।

यसअघि सेप्टेम्बर २६ मा इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको थियो। सो हमलामा हिजबुल्लाहको ड्रोन युनिटका कमाण्डर मोहम्मद सरूर मारिएका थिए।

लगातार इजरायली आक्रमणमा ५०० भन्दा बढी लेबनानी नागरिकको ज्यान गएको छ भने १८०० भन्दा बढी घाइते भएका छन्।

बंकर ब्लास्टर बमको प्रयोग

सेनाले हिजबुल्ला मुख्यालयलाई ध्वस्त पार्न बंकर ब्लास्टर बमहरू प्रयोग गरेको इजरायली मिडियाले दाबी गरेको छ। ती बमहरू विस्फोट हुनु अघि जमिनको गहिराइमा पुग्छन् र त्यसपछि विस्फोट हुन्छ जसले भूमिगत सुरुङ र बङ्करहरूमा ठूलो क्षति पुर्‍याउँछ।

इजरायलले लेबनानको सीमामा थप ट्याङ्क र सशस्त्र सवारीसाधन तैनाथ गरेको छ। नेतान्याहुले सेनालाई लेबनानमा सम्भावित ग्राउण्ड मिसनका लागि तयार रहन निर्देशन दिएको छ।