परराष्ट्र सेवाकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिस समितिले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–७ पञ्चायतकालमा केउरिनी गाउँपञ्चायतका रुपमा चिनिन्थ्यो। विसं २०३० को पूर्वार्द्धसम्म त्यहाँको सरस्वती स्कुलमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो।

स्कुलको प्रधानाध्यापक थिए चुडामणि लम्साल। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल अधिकारी थिए। उनी केउरिनी गाउँ पञ्चायतका प्रधानपञ्च पनि थिए।

सो स्कुललाई ७ कक्षासम्म पढाइ हुने निमावि बनाउन प्रधानाध्यापक लम्साल र प्रधानपञ्च अधिकारीले सक्दो मेहनत गरे। गाउँलेहरूसँग चन्दा मागे। सरकारी कार्यालय पनि धाए। र, अन्ततः सफल पनि भए। सोही स्कुलमा ७ कक्षासम्म पढाइ सुरु भयो।

प्रधानाध्यापक र प्रधानपञ्चबीचको मिल्तीबिना यो सफलता सम्भव थिएन। उनीहरूबीचको मित्रता सन्तानहरूसम्म विस्तारित थियो। दुवैका जेठी छोरीहरू स्कुलमा एउटै कक्षामा पढ्थे। दुवैले ७ कक्षा पनि सँगसँगै उत्तीर्ण गरे।

गाउँको विद्यालयमा पढाइ सिध्याएपछि माध्यमिक शिक्षाका लागि अलिक परको दिङ्ला पुग्नुपर्थ्यो। अविभावकहरू छोरीलाई पढाउन दिङ्ला पठाउनुभन्दा घरजम गरिदिनु उपयुक्त ठान्थे। त्यहीकारण केउरिनी गाउँका अधिकांश छात्राहरू आफ्नो पढाइ अघि बढाउन पाउँदैनथे। प्रधानपञ्चकी छोरीले पनि पढ्ने मौका पाइनन्। बुबाआमाले उनको बिहे गरिदिए।

तर, आफूले मास्टरी छाडिसकेको भए पनि पूर्वप्रधानाध्यापक चुडामणि लम्सालले छोरी सेवाको पढाइलाई निरन्तरता दिने निर्णय गरे।

तिनै सेवा लम्सालले अहिले इतिहास रचेकी छन्, नेपालको पहिलो महिला परराष्ट्रसचिव बनेर। मन्त्रिपरिषदको बिहीबार (२८ मंसिर) को बैठकले उनलाई सो पदमा बढुवा गरेको हो।

राणा शासन समाप्त भएपछि विसं २००८ मा परराष्ट्र मन्त्रालयको स्थापना भएको हो। परराष्ट्र मन्त्रालयको २५ औँ सचिव सेवा लम्सालले नेपालको पहिलो महिला परराष्ट्र सचिव बन्ने सौभाग्य प्राप्त गरेकी छन्।

उतिबेला अभिभावकले पढ्न दिएकै कारण आफू यति अघि बढ्न सफल भएको उनको ठम्याइ छ।

‘मेरो बुबा मास्टर नहुनु भएको भए म अहिले गृहस्थी जीवन बिताइरहेकी हुन्थेँ कि!’ केही महिनाअघिको कुराकानीमा लम्सालले भनेकी थिइन्, ‘त्यसैले, मेरो करिअरमा बुबाको ठूलो योगदान छ।’