प्रतिनिधि सभा सदस्य इलाम क्षेत्र नम्बर २ मा जारी मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बिहान ११बजेसम्म ३० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी  दिएका हुन्। ‘बिहान ११ बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ। कहीँ २१ प्रतिशतसम्म र कहीँ १८ प्रतिशतको हाराहारीमा मत खसेको छ’, उनले भने।

यस्तै उनले अहिलेसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको जानकारी पनि दिए। ‘अहिलेसम्म सबैतिर सहज तरिकाबाट मतदान भइरहेको हामीली रिपोर्टिङ लिएका छौँ। म आफैँ पनि अहिले फिल्डमै मतदान अवस्थाबारे बुझिरहेको छु’, मुख्य निर्वाचन अधिकृत घिमिरेले भने, ‘मतदाताहरू उत्साहित हुँदै मतदानमा सक्रिय भएको पाएका छौँ।’

घिमिरेले भने,‘मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री प्रयोग गरिएको छ ।

इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा पर्छन् ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा (वडा नम्वर १० बाहेक) सबैभन्दा बढी ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । त्यस्तै चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ गरी कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । ‘कुल मतदातामध्ये पुरुष ५९ हजार १८ जना, महिला ५६ हजार ८६९ जना र अन्य २ जना रहेका छन्,’ जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयालले भने,‘ प्रत्येक पालिकामा पुरुष मतदाताकै बाहुल्यता छ ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा १ हजार तीन सय ६३ प्रहरी परिचालन गरिएको छ ।

अति संवेदनशील केन्द्रमा निगरानी उच्च

प्रमुख जिल्ला अधिकारी इन्ददेव यादवका अनुसार ३९ सामान्य, २१ संवेदनशील र १९ अति संवेदनशीलको रुपमा राख्दै त्यहाँ निगरानी बढाइएको छ । मूलतः भौगोलिक दुरी, घुसपैठ हुन सक्ने सीमा नाका लगायतका आधारमा १९ केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनका अनुसार संवेदनशीलता वर्गीकरण अनुसार फाकफोकथुम, माङसेबुङ, चुलाचुलीलगायत पालिकाका मतदान केन्द्रहरु अति संवेदनशील सूचीमा छन् ।

त्यसैले यहाँ एउटा केन्द्रमा १२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । देउमाइ र माइका केन्द्रहरुलाई संवेदनशील मानिएको । जहाँ प्रति केन्द्र ९ जनाका दरले सुरक्षाकर्मी खटाइएको छ । इलाम नगरपालिका र आसपासका केन्द्रहरुलाई सामान्यको सूचीमा राखिएको छ । जहाँ ८ जनाका दरले सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्भावित गतिविधिको आकलनसहित गृहमन्त्रालयले ‘विशेष निगरानी’ गरिरहेको जनाइएको छ । गृहले झापासँग सीमा जोडिएको दक्षिणी इलामको चुलाचुली र माङसेबुङ क्षेत्रलाई अलि विशेष निगरानी गरिहेको जनाएको छ ।

सवारी आवागमन ठप्प, नाका सिल

चुनावका दिन शनिबार मेची राजमार्गमा चल्ने सवारीसाधनलाई निषेध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसका कारण इलामसहित पाँचथर, ताप्लेजुङ र झापामा समेत प्रभाव पर्ने छ ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै शनिबार बिहान ५ देखि साँझ ६ बजेसम्म अनुमति लिएका र अत्यावश्यकबाहेकका सवारीसाधनलाई निषेध गरिएको प्रजिअ इन्द्रदेव यादवले जनाए ।

बृद्ध, असक्त, अपाङ जस्ता मतदाताका लागि भने मतदान अधिकृतबाटको सिफारिसमा सवारी अनुमति दिइने जनाइएको छ ।

यसैबीच शनिबार एक दिन दार्जिलिङसँग जोडिएको पशुपतिनगरको सीमानाका सिल गरिएको छ । दार्जिलिङको लोकसभा निर्वाचनका कारण तीन दिनदेखि जारी सिल भारतले शनिबार बिहानैबाट खोले पनि इलामको चुनावका कारण एक दिन थप नाका सिल हुने प्रशासनले जनाएको छ ।