प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।
निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।
१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्यो।
२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम-२ बाट निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित भएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो।