नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ ।
यस्तो अवस्थामा नेपालमा पहिलो पटक आज देखि नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन् । त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ । त्यहीकारण यो प्रतियोगिताका सम्पूर्ण खेलहरु खेल जगतका प्रतिष्ठित टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ ।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने भएको छ । पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् ।
कुन टिम कस्तो ?
विराटनगर किंग्स
नेपाली टिमका स्टार स्पिनर सन्दीप लामिछाने मार्की रहेको विराटनगर किंग्समा लोकेश बम, प्रतिश जीसी, बसिर अहमद जस्ता उम्दा खेलाडी छन् ।
राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ पनि विराटनगर किंग्समा छन् ।
यस्तै विराटनगर किंग्समा विश्व चर्चित र अनुभवी विदेशी खेलाडी पनि छन् । ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।
विराटनगर किंग्समा सन्दीपसँगै विदेशी खेलाडीको प्रदर्शन हेर्न लायक हुनेछ ।
जनकपुर बोल्ट्स
राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा अर्का ओपनर अनिलकुमार साह र स्पिनर ललित राजवंशी छन् । राष्ट्रिय टिमका नियमित सदस्यहरूको सहभागिताले जनकपुर बोल्ट्स बलियो देखिन्छ । टिममा रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर छन् ।
जनकपुर बोल्ट्समा न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर छन् ।
नेपाली र विदेशी खेलाडीको बलियो प्रदर्शन पक्षले जनकपुर बोल्ट्स पनि एनपिएलको उपाधि दाबेदार टिम हो ।
चितवन राइनोज
पावर हिटर कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशको चितवनबाट प्रतिनिधित्व गर्ने टिम हो । टिममा मल्लसँगै रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल छन् ।
यस्तै सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दीपक बोहरा, रंजीत कुमार, गौतम केसी पनि टिममा छन् ।
चितवन राइनोजमा इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन छन् । चितवन राइनोजको आइकोनिक खेलाडी सलाहुद्दिन खान हुन् । युवा स्टार रहेको चितवन राइनोजमा लोफ्टी इटन र शरद भेषावकरको अनुभवले काम उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।
काठमाडौं गुर्खाज
नेपाली टिमका फास्ट बलर करण केसी मार्की रहेको घरेलु टोली काठमाडौं गुर्खाज एनपिएलको उपाधि दाबेदार टिम हो । काठमाडौं गुर्खाजमा करणबाहेक, साहब आलम, भीम सार्की, रसिद खान जस्ता युवा खेलाडी छन् । टिममा शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल छन् ।
काठमाडौं गुर्खाजको विदेशी खेलाडीमा भने इंग्ल्यान्डका नेथन सोउटर, इंग्ल्यान्डकै स्टेफन इस्किनाजी, इंग्ल्यान्डका ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड एरासमस छन् ।
काठमाडौँको आइकोनिक खेलाडीमा भने कृष कार्की छन् ।