एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरुलाई विभिन्न परीक्षा केन्द्रबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-१ स्थित मावि पथराकोटका प्रअ उतिचन्द्र यादव, सरस्वती मावि परीक्षा केन्द्रका परीक्षा निरीक्षक गढिमाई- ७ का २२ वर्षीय ललन राय यादव, निमावि पथरा बुधराम परीक्षा केन्द्रका परीक्षा निरीक्षक राम अमोदप्रसाद यादव, रौतहटको मौलापुर नगरपालिका- ६ घर भई शंकर मावि परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा कार्यरत अबघलाल राय र सोही विद्यालयमा परीक्षा निरीक्षकको रुपमा खटिएका स्थानीय २५ वर्षीय राकेशकुमार यादव छन्।

त्यसैगरी परीक्षा केन्द्रमा अनधिकृत रुपमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका- १ का ३१ वर्षीय रामसोगारथ साहलाई पनि पक्राउ गरेकाे छ। उनी सरस्वती मावि परीक्षा केन्द्र पिपराबाट पक्राउ परेका हुन्।

उनीहरुले आफ्नो पदीय मर्यादा विपरित हाल सञ्चालन भइरहेको एसईई परीक्षाको प्रश्नपत्र र त्यसको उत्तरसमेत ह्वाट्सएपसहितका सामाजिक सञ्जाललको माध्यमबाट एक अर्कालाई आदान प्रदान गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदपा १ (क) अनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी गिरीले बताइन्।

‘ह्वाट्सएपमा एसईई ग्रुप बनाइ ह्वाट्सएपसहितका विभिन्न सामाजिक सञ्जालमा प्रश्नपत्र र उत्तरसमेत आदान प्रदान गरी परीक्षाको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटिएकाे अवस्थामा आफैँ चिट चोराउने लगायतका कार्य गरेको आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ,’ डीएसपी गिरीले जारी गरेको प्रेस नोटमा भनिएको छ।