कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा हुने भएको छ। उनी नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन्।

मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।

सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताए।

आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ।

‘गृह मन्त्रालयको तर्फबाट सुरक्षा योजना र आफ्नो हिसाबले तयारी गरेका छौं। पहिलो घेराको सुरक्षा सेनाले दिने भएकाले त्यही अनुसारको तयारी उनीहरुको होला। हामीले पनि योजना बनाएर भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए।

आमिर नेपाल उत्रनु १५ मिनेट पहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारिने भएको छ। सुरक्षाकै लागि उनी अवतरण गरेको १५ मिनेटपछि मात्रै अन्य विमानको उडान अवतरण सुचारु हुनेछ।

आमिरको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमै पुग्ने भएका छन्। भ्रमण टोलीमा कतार सरकारका ६ जना मन्त्रीहरु पनि सामेल हुनेछन्।

आमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। यसले सुरक्षा व्यवस्थापनमा सहज हुने विश्लेषण छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आमिरले नेपालको राजकीय भ्रमण गर्न लागेका हुन्। उनी बुधबार स्वदेश फर्किनेछन्।