कथाकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए।

प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछी पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिएका छन् ।

२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन्।

प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।