गएराति पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल हुण्डी र क्रिप्टो करेन्सी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।

विभागको टोलीले क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ हजार डलर र २ करोड १५ लाख बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले नेपाल प्रेसलाई बताए ।

अवैध धन्दामा लागेको आशंकामा उनलाई पहिलेदेखि नै विभागको टोलीले निगरानीमा राखेको थियो । गएराति कारोबार गरिरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको विभाग स्रोतले बतायो ।

राजस्वको हिरासतमा रहेका उनीसँग अन्यको संलग्नता साथै थप विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।