पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै गएराति १२ बजे सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको छ। बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका ३ पौराहीका ४६ वर्षीय नारायण भण्डारी, सल्यानको सेमिखाल- ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, भारतको उत्तर प्रदेशका ५५ वर्षीय सकिल अहमद मुसलमान, कञ्चनपुरको महेन्द्रनगर- १ का करिव २७ वर्षीय राहुल राम कामी, कञ्चनपुरकै भिमदत्त नगरपालिका- ४ का करिब १७ वर्षीय किशोर उमेश भण्डारी, भिमदत्त- ६ कf २७ वर्षीय सञ्जु थापा (महिला), भिमदत्तकै २१ वर्षीया खगेश्वरी खाती, भिमदत्त- २ का २२ वर्षीय सुदीप भट्ट, कञ्चनपुरकै पुनर्वास नगरपालिका- ९ बीचफाँटाकी विमला देवी भट्ट र सोही ठाउँका विसन दत्त भट्ट छन्।
उनीहरुमध्ये धेरैको घटनास्थलमै र केहीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
यी हुन् दुर्घटनाका गम्भीर घाइते
गम्भीर घाइते ९ जनालाई बुटवल रेफर गरिएको छ। उनीहरुको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, दुर्घटनामा परेको बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।
उनीहरु सबैकाे स्थानीय अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।