पछिल्लो समय आईभीएफ प्रविधिको निकै चर्चा हुने गरेको छ। निसन्तान दम्पतीका लागि यो प्रविधि वरदान साबित भएको छ। लोकप्रियता बढेसँगै यसका बारेमा विभिन्न भ्रम समेत फैलाइएका छन्।

आईभीएफमार्फत जन्मने बच्चा अन्य सामान्य बच्चाजस्तै हुँदैनन्, आईभीएफमार्फत गर्भवती भएकी महिलाले ९ महिनासम्म पूर्ण रूपमा बेडरेस्ट गर्नु पर्छजस्ता भ्रम व्याप्त छन्। तर त्यो सत्य नभएको नेपाल इन्टरनेसनल फर्टिलिटी एन्ड ल्याप्रोस्कोपिक सेन्टरमा कार्यरत डाक्टर अर्चना शाक्यको भनाइ छ।

उनी भन्छिन्, ‘प्राकृतिक रूपमा गर्भवती हुँदा अण्डाको विकासदेखि भ्रूण बन्ने प्रक्रिया सबै आमाकै शरीरमा हुन्छ। तर, आईभीएफको हकमा अण्डा र शुक्राणुको मेल अथवा भ्रूण बन्ने प्रक्रिया सबै आईभीएफ ल्याबमा हुने र त्यसपछि बनेको भ्रूण आमाको पाठेघरभित्र राखिन्छ। ल्याबमा भ्रूण बन्ने भएकाले धेरैलाई आईभीएफमार्फत जन्मेको बच्चा सामान्य हुँदैन कि भन्ने लागेको हुनसक्छ। तर, यसमा सत्यता छैन। आईभीएफमार्फत जन्मिएका बच्चा स्वस्थ छन्।’

आईभीएफमार्फत जन्मिने बच्चाको भ्रूण प्रयोगशालामा बनाए पनि पूर्ण विकास आमाको गर्भमा नै हुने भएकाले आईभीएफमार्फत गर्भवती हुने महिलालाई सामान्य गर्भावस्थामा जस्तै अनुभव हुने डा. शाक्यको भनाइ छ। ल्याबमा भ्रूण बनाउने क्रममा परिवारमा कुनै वंशाणुगत रोग भएमा जेनेटिक टेस्टिङ गर्न मिल्ने भएकाले यसरी जन्मिएको बच्चा अझै स्वस्थ हुने डा. शाक्य बताउँछिन्।

आईभीएफ गरेपछि गर्भवतीले नौ महिनासम्म ओछ्यानमा आराम गर्नुपर्छ त?

डाक्टर शाक्य भन्छिन् ‘महिलाको अवस्था हेरेर आराम गर्नु पर्ने पनि हुन सक्छ।’

उनका अनुसार आईभीएफ गर्भवती हुने एउटा प्रक्रिया मात्र हो। एकपटक भ्रूण पाठेघरमा राखेपछि बच्चाको विकास सामान्य गर्भावस्थामा जस्तै हुन्छ। अर्थात् सामान्य गर्भावस्थामा डाक्टरले जुन काम गर्न अनुमति दिएको हुन्छ, यसमा पनि चिकित्सकको सल्लाहमा त्यही काम गर्न सकिन्छ। तर, सामान्य गर्भावस्थामा पनि कारणवश केही जटिलता आए आराम लिनुपर्छ। त्यस्तै, आईभीएफको दौरान यस्तो समस्या आए आराम लिनुपर्छ।

आईभीएफलाई लिएर अर्को पनि भ्रम छ। भनिन्छ, आईभीएफ प्रक्रियाले सबै अण्डा नष्ट गर्छ र महिलामा रजोनिवृत्ति निम्त्याउँछ। यस भ्रमका बारेमा डा. शाक्य भन्छिन्, ‘आईभीएफ प्रक्रियाले अण्डा सक्ने भन्ने हुँदैन। प्राकृतिक चक्रमा महिलाको अण्डाशयबाट हरेक महिना कहिले दायाँ त कहिले बायाँबाट परिपक्व अण्डा बाहिर निस्कन्छ। त्यो अण्डा फर्टिलाइज भएपछि मात्र भ्रुण बन्छ। अन्यथा गर्भ रहँदैन। एउटा अण्डाको जीवित रहने समय २४ घण्टासम्म हुन्छ। यो परिपक्वबाहेक अरू अण्डा पनि हुन्छन् जो परिपक्क नभई आफैँ खेर जान्छन्।’

आईभीएफमा ती खेर जाने समेत गरी १० देखि १५ वटा अण्डा निकाल्ने प्रयास गरिन्छ। आईभीएफको लागि अण्डा निकालेपछि अर्को महिना अण्डा बन्दैन भन्ने धारणा गलत रहेको शाक्यको प्रष्टीकरण छ। भन्छिन्, ‘अर्को महिना फेरि अण्डाहरू निस्कन्छन्।’

आईभीएफ प्रक्रियामा जुम्ल्याहा बच्चा हुन्छन् भन्ने आम धारणा बनेको छ। तर, आईभीएफ गर्दैमा जुम्ल्याहा बच्चा नहुने शाक्यको भनाइ छ।

‘आईभीएफमा महिलाको उमेर र निःसन्तानपनको कारण बुझेर एक वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरिन्छ,’ उनी भन्छिन् ‘दुई वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरे मात्रै जुम्ल्याहा हुने सम्भावना बढ्छ।’

आईभीएफ प्रक्रियाबाट २५ देखि ४५ वर्षसम्मका महिला मात्रै होइन, महिनावारी सुकिसकेका (रजोनिवृत्त) महिलालाई पनि गर्भधारण गराउन सकिन्छ।

अहिले प्रायः महिलामा करिअर बनाएर मात्रै विवाह गर्न चाहन्छन्। विवाह गरिहाले पनि सेटल भएपछि मात्रै बच्चा जन्माउन चाहन्छन्। उनीहरूका लागि आईभीएफ झनै प्रभावकारी रहेको डाक्टर शाक्यको भनाइ छ। भन्छिन्, ‘समयमै आफ्नो अण्डा निकालेर ल्याबमा फ्रिज गरेर राखेर पछि आईभीएफमार्फत बच्चा जन्माउन सकिन्छ।’

(नेपालखबर बाट सभार गरिएको )