सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीका दीपकप्रसाद देवकोटालाई बाग्मती प्रदेश प्रमुख नियुक्त गरेका छन्।

यस्तै, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेअनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन्।

बाग्मतीको प्रदेश प्रमुख नियुक्त देवकोटा २०१५ साउन २ गते पाल्पाको तत्कालीन देवीनगर गाउँ पञ्चायत–२ मा जन्मिए। उनी ०३१ सालदेखि पाल्पामै शिक्षण पेसामा आबद्ध थिए।

०३४ सम्म अध्यापन नै गरेका देवकोटालाई त्यसै बेला एमाले संस्थापक अध्यक्ष मनमोहन अधिकारीले क्रान्तिकारी बुद्धिजीवी संघको सदस्यता दिए। तर उनले सदस्यता भूमिगत नै राखे।

पाल्पामा हुँदा देवकोटाले तत्कालीन तानसेन नगर पञ्चायतमा लेखापालको काम गरे। त्यति मात्रै होइन, त्यहाँ उनले लेखापढीको काम पनि गरे।

०३८ सालमा पाल्पाबाट देवकोटा कञ्चनपुरको महेन्द्रनगर आए। तत्कालीन महाकाली अञ्चल अदालतमा उनी ०३९ माघसम्म विचारी काम गर्थे। त्यसपछि लोक सेवा आयोगबाट मुखिया बनेका उनको बैतडी हुलाकमा सरुवा भयो।

०४२ मा कैलालीमा हुँदा उनी बढुवा भएर खरिदार बने। ०४८ सालमा निजामती कर्मचारी आन्दोलनमा देवकोटा सहभागी भए। काठमाडौँको भद्रकालीमा २२ दिन आमरण अनशन बसेको भन्दै उनलाई खरिदारको जागिरबाट अवकाश दिइयो।

त्यसपछि उनी एमालेको सक्रिय राजनीतिमा आएका आएका हुन्। ०४९ मा देवकोटा धनगढी नगरको उपप्रमुखमा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धा गरे। तर त्यसबेला उनी पराजित भए।

एमालेको नगर, जिल्ला कमिटी सदस्य हुँदै देवकोटा २०५९ मा नेकपा एमाले कैलालीको अध्यक्ष बने। दुई कार्यकाल एमाले कैलालीलाई हाँकेका उनले ०६५ सालमा राजीनामा दिए।

देवकोटा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली ५ बाट चुनाव लडे पनि सफल हुन सकेनन्।

उनीसँग एमालेको विभिन्न कमिटीमा काम गरेको अनुभव छ।

केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए।

पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै पार्टी राजनीतिबाट अलग बनेका छन्।