त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइनमार्फत सेवा प्रवाह थाल्यो । तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरिदिए । उनले चुनौती दिँदै भने, ‘हिजोदेखि टियु (त्रिभुवन विश्वविद्यालय) ले अनलाइन सेवा सुरु गरेसँगै यसले टियुको वेबसाइट अट्याक सर्फेस पनि बढाएको छ । यसले गर्दा टियुको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ ।’

सीसीआरसी कलेजमा कक्षा १२ मा अध्ययनरत ती विद्यार्थीले अब त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीबाट आएका लाखौँ कागजपत्रलाई सुरक्षित राख्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ थियो । उनले सबैको डाटा सुरक्षित राखेको बताउँदै ह्याकिङ गर्नु अवैध र अनैतिक रहेको समेत उल्लेख गरेका थिए ।

हुन पनि विश्वविद्यालय भनेको उच्च शिक्षा हासिल गर्ने थलो हो । तर उच्च माध्यमिक तह अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने थलोले प्रयोग गरेको प्राविधिक विद्वतालाई ठाडो चुनौतीमात्र दिएनन्, त्यसमा कब्जा जमाएर खिल्ली उडाइदिए ।

rohit

अनलाइन सिस्टम ह्याक गरेर उनले आफ्नो फेसबुक प्रोफाइल नै राखेका थिए । केही घण्टापछि उक्त फेसबुक प्रोफाइल हटेको थियो । उनले त्यसपछि सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयलाई चेतावनीसहितको सुझाव दिएका थिए । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (tuexam.edu.np) यतिबेला ‘अण्डर कस्ट्रक्सन’ (मर्मत सम्भार) का क्रममा छ ।

त्रिभुवन विश्वविद्यालयका निमित्त रजिस्ट्रार डा. कृष्ण प्रसाद बस्यालले अनलाइनमा समस्या देखिएपछि आईटी टिमले काम गरिरहेको बताए । पिलिमनरी फेजमा ह्याक भएकाले कुनै पनि डाटा चोरीको समस्या नदेखिएको उनको भनाइ थियो ।

अनलाइनमा रहेको लुप होलका कारण ह्याक हुन पुगेपछि परीक्षा नियन्त्रण कार्यालयले अहिले सेक्युरिटी अडिटका लागि पठाएको छ । सेक्युरिटी अडिट भएपछि सुरक्षित हुने र त्यसका लागि काम भइरहेको बस्यालको भनाइ छ ।

पहिलो प्रयास भएकाले अनलाइन सेवा थालनीमा केही कमजोरी देखिएको बस्यालले स्वीकार गरे । ‘फस्टफेजमा हामीले सुरु गरेको हो । पिलिमनरी सिस्टममा समस्या भएको हो । सुरू स्टेजमा अलिकति समस्या आएको हो । यसमा हाम्रो आईटी लागिरहेको छ,’ उनले भने ।

यसमा देखिएका समस्या समाधान गरेर जति सक्दो चाँडो अनलाइन सेवा सुचारू गरिने बस्यालले प्रस्ट पारे । नेपालमा आईटी क्षेत्रमा अध्ययन अध्यापन गराउने क्षेत्रमा त्रिभुवन विश्वविद्यालय निकै अगाडि छ । प्रायः विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयबाटै आईटी पढ्दै आएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय आईटी विभाग प्रमुख दिपक बहादुर शाहीले समयसीमाभन्दा अगाडि आएर सेवा दिन खोज्दा केही कमजोरी देखिएको बताए । ‘समयसीमा अनुसार काम गर्नुपरेको थियो । अलि समय लगाएर काम गर्न पाएको भए यस्तो समस्या हुने थिएन होला,’ शाहीले भने, ‘यस्तो समस्या नआउला भन्ने थियो तर, प्रविधिले यति फड्को मारिसकेको छ कि हाम्रै विद्यार्थीले सिकेर सिस्टमलाई सुधार गर्ने मौका वा चुनौती दिएका छन्, त्यो सिस्टम सुधारका लागि मौका पनि हो ।’ -ratopati