त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक डा. कृष्णबहादुर चन्दको निधन भएको छ।५१ वर्षको उमेरमा हृदयाघातका कारण बुधबार उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

महेन्द्रनगरको मन्त्र हस्पिटलमा चन्दको उपचारका क्रममा निधन भएको हो। उनी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ बहुमखी क्याम्पस (महेन्द्रनगर) मा २०५६ सालदेखि सहप्राध्यापक थिए।गणित विषय प्राध्यापन क्षेत्रमा अमर पहिचान छाडेर चन्द बिलाएका छन्। उनले २०५४ सालतिर त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्वर्ण पदक प्राप्त गरेका थिए।

भारतको पिथौरागढबाट आइएससी अध्ययन गरेका चन्दले त्रिभुवन विश्वविद्यालयको अमृत साइन्स क्याम्पसबाट बीएससी र एमएससी अध्ययन गरे।

वि.सं. २०२९ मा बैतडीको लिस्केडामा जन्मिएका चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐँठपुरमा बस्थे। उनका एक छोरा र दुई छोरी छन्।

चन्दको बिहीबार भुजेला आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।