दशैं लागेसंगै बजारमा किनमेल बढेको छ । धेरै किनमेल हुने भएकाले उपभोक्ता ठगिने सम्भावना पनि बढिरहेको छ। त्यसमाथि विभिन्न बहानामा महँगी चुलिंदा उपभोक्ता झनै मारमा परेका छन् ।

नेपालीहरुको महान चाड दशैँ आउन अब केहि दिन मात्र बाँकी हुँदा उपभोक्ताहरु यतिबेला महंगीको मारमा पर्न थालेको गुनासो गर्न थालेका छन् ।

चाडपर्व नजिकिएसँगै पछिल्लो केहि दिनमा नै ब्रोइलर कुखुराको मासु, चिनी, तरकारी लगायतका खाद्यान्नको भाउमा वृद्धि भएको छ । हुन त अन्य बेला पनि चाडपर्वको समयमा तुलनात्मक रुपमा खाद्यान्नको भाउ बढेको हुन्छ । थोक मूल्य भन्दा बजारमा दोब्बर महंगोमा खाद्यान्न बिक्री भइरहेको छ । बजारमा व्यापारीहरुले मनपरी मूल्य तोक्ने गरेका छन् जसको मारमा उपभोक्ता परिरहेका छन् ।

चामल, चिनी, मसलाबाहेक २०७९ को तुलनामा यो वर्ष भने यसवर्ष होलसेल बजार सस्तो छ । तर, खुद्रामा भने महँगी कायमै छ ।

के के महँगिए ?

दशैँले नजिकिएसंगै नेपालीहरुको भान्छा थप महंगो भएको छ । सर्वसाधारणको ढाड सेकिने गरी महंगी बढेपछि चाडपर्व धान्न कठिन भएको गुनासो पनि बढ्न थालेको छ ।

बजारमा चामल,चिनी र मसलामा अधिक मात्रामा मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार संघका सदस्य कबिन्द्र श्रेष्ठका अनुसार चामलको मूल्य खुद्रामा धेरै महंगएिको छ । ‘अहिले धेरै महंगिएको छ । १६०० पर्ने चामलको मूल्य २२०० रुपैयाँसम्म पुगेको छ । सोना मन्सुली चामल ३० किलोको पहिले होलसेल मूल्य १३०० रुपैयाँसम्म परे पनि अहिले भने २,००० रुपैयाँसम्म पुगेको छ,’ श्रेष्ठले भने, ‘स्टिम चामल भने २,२०० रुपैयाँ भन्दा कम पाइँदैन । जीरा मसिनो चामल २,१५० देखि २,२०० रुपैयाँसम्म पर्ने गरेको छ । पहिले १,३०० देखि १,६०० रुपैयाँसम्म पाइन्थ्यो ।’ श्रेष्ठ यो मूल्यलाई दशैँको प्रभाव भन्न नमिल्ने बताउँछन् । तर, एकपछि अर्को गर्दै महंगी बढ्नुमा भारतले निर्यात बन्द गर्दा पनि महंगिएको हुन सक्ने उनको दाबी छ ।

व्यवसायीहरुका अनुसार यतिबेला बजारमा चिनीको हाहाकार छ । होलसेलमै चिनी नहुँदा र भएको चिनीको पनि मूल्यमा कोर्टेलिङ हुँदा मूल्य १५० रुपैयाँसम्म पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा धेरै मूल्य बढेको अर्को वस्तु जिरा हो । किलोको १३०० देखि १५०० रुपैयाँसम्म जिराको कारोबार भइरहको छ । गत वर्ष ५५० रुपैयाँसम्ममा जिराको कारोबार भएको थियो । यस्तै, मासको दाल र रहर दालमा पनि मूल्य वृद्धि भएको छ । रहरको दाल होलसलमा नै २६० रुपैयाँ होलसेलमै पुगेको छ । खुद्रामा यस्तो मूल्य २८० रुपैयाँसम्ममा पर्ने बताइन्छ । मुसुरो दाल १३० रुपैयाँ बाट बढेर १६० रुपैयाँ हाराहारी पुगेको छ ।

यसैगरी, ताइचिन चिउरा ४० रुपैयाँले बढेको छ । पहिले ६० रुपैयाँ पर्ने ताइचिन चिउरा अहिले १०० रुपैयाँ हाराहारी पुगिसकेको छ । तर, खाने तलेको मूल्य भने घटेको छ । सनफ्लावर तेल बजारमा २१० रुपैयाँ लिटरसम्म पर्ने गरेको छ ।

खुद्रा व्यापार संघका कोषाध्यक्ष बसन्त श्रेष्ठ  गत वर्षभन्दा यस वर्ष महंगी खासै नभएको दाबी गर्छन् । ‘दशैँको प्रभाव परेको नहोला । चिनी बेच्न सक्ने अवस्था छैन, हामीले बेचेका पनि छैनौँ । होलसेलमा नै हरेक दिन भाउ फरक देखिएको छ,’ उनले थपे, विदेशी मसुरो दालको भाउ बढेको छ । अहिले १६० रुपैयाँसम्म पर्ने गरेको छ,’ श्रेष्ठले बताए।

व्यापार कम भएकोले होला व्यापारीले भाउ ५० रुपैयाँले घटाएको उनी दाबी गर्छन् ।

यस्तै दशैंको मुखैमा गेडागुडी,चना, रहर दाल महंगो भएको छ । रहर दाल २ महिनाअघि २२० रुपैयाँ पर्नेमा अहिले २९० रुपैयाँसम्म होलसेल मूल्य कायम भएको छ । वाटर पोलिस रहरको दाल २३० रुपौयँमा बिक्री हुने गरेको छ । होलसेलमा १३० रुपैयाँ पर्ने गरेको छ । केराउको आयात नभएकोले अवैध केराउको मूल्य मनपरी राखिएको छ ।

तरकारीको मूल्य कतिले महंगियो?

कालीमाटी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्य सूची अनुसार आज भारतीय ठुलो गोलभेडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । जुन २०७९ को असोज १२ गते, ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । एक वर्षमा गोलभेडा किलोमा २० रुपैयाँले घटेको देखिन्छ । सानो अथवा लोकल गोलभेडाको आजको थोकमूल्य ५५ रुपैयाँ रहेको छ । गत वर्ष भने यस गोलभेडाको मूल्य प्रतिकिलो २४ रुपैयाँ ८० पैसा पर्ने गरेको थियो । यसरी एक वर्षमा लोकल गोलभेडा ५४.९१ प्रतिशतले बढेको देखिन्छ ।

यसैगरी, गत वर्षको तुलनामा आलुको भाउ ४ देखि ३४ प्रतिशतसम्म गिरावट भएको पाइन्छ । आज रातो आलु एक किलोको थोक मूल्य ५७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडे रातो आलु ४९ रुपैयाँ, सेतो आलुको थोक मूल्य ४७ रुपैयाँ रहेको छ ।

प्याज र लसुनकाे भाउ बढ्याे

प्याजको भाउ अघिल्लो वर्षको तुलनामा ४८.३२ प्रतिशतले वृद्धि भएको छ । २०७९ असोज १२ गते, प्याजको थोक मूल्य ३७ रुपैयाँ पर्ने गरेकोमा २०८०को असोज ११ गते अथवा आज ७१ रुपैयाँ ६० पैसा पुगेको छ ।

यस्तै, चाइनिज लसुनको अहिले २२५ रुपैयाँ होलसेल मूल्य रहेको छ । गत वर्ष लसुनको भाउ १८५ रुपैयाँ रहेको थियो । यसरी चाइनिज सुकेको लसुनको भाउ एक वर्षमा १७.७८ प्रतिशतले बढेको छ । नेपाली लसुनको आजको थोक मूल्य २५६ रुपैयाँ ६७ पैसा रहेकोमा गत वर्ष १४६ रुपैयाँ ६७ पैसा पर्ने गरेको थियो । यसरी, नेपाली लसुन ४२.८६ प्रतिशतले बढेको छ ।

रायो साग भने गत वर्षको तुलनामा झण्डै दोब्बरले गिरावट भएको छ । गत वर्ष रायो साय प्रति किलो ११० रुपैयाँ थोक मूल्यमा किनबेच भएको थियो । बिहीबार कालीमाटी बजार विकास समितिले रायाे साग एक किलाेकाे ५६ रूपैयाँ ६७ पैसा ताेकेकाे छ । एक वर्षमा रायो साग ९४.११ प्रतिशतले सस्तिएको हो । कालीमाटीमा अघिल्लो वर्ष काउली ८८ रुपैयाँमा खरिदबिक्री भएपनि आज भने स्थानिय काउलीकाे भाउ ९८ रुपैयाँमा पुगेको छ ।

तर बजारमा भने व्यापारीहरुले आफ्नो चाहना अनुसारको मूल्य निर्धारण गर्ने गरेका छन् ।

मासु र दुग्ध पदार्थकाे भाउ कति छ ?

दुग्ध विकास संस्थानले निर्धारण गरेको मूल्य अनुसार अहिले घ्यू एक लिटरको एक हजार १०० रुपैयाँ रहेको छ । यसैगरी, दही एक लिटरको १९० रुपैयाँ तोकिएको छ । मोही आधा लिटरको ३५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

यसैगरी, तयारी मासुको मूल्य पनि बढिरहेको छ । अहिले बजारमा खसीको मासु १,३०० रुपैयाँ पर्ने गरेको छ  ।

ब्रोइलर कुखुराको मासु ४४० रुपैयाँ किलोसम्म बिक्री हुने गरेको छ। गत असाेज २ गते,जिउँदो कुखुराको मूल्य बढेसँगै तयारी मासु पनि प्रतिकिलो १५ रुपैयाँले बढेकाे थियाे । ८ दिनअघि जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य तेस्रो पटक बढेको थियाे । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ महंगिएको थियाे ।-merolagani