राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शर्माले भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सुर्खेतका शर्मालाई जनमोर्चाले चितवनबाट उठाएको हो । उनको प्रस्तावकमा डम्मर केसी र समर्थक भरतपुर देवी शर्मा रहेका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा जनमोर्चाले कांग्रेस माओवादी गठबन्धनलाई सघाएको थियो । अहिले जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । । चितवनमा अमेरिकी साम्राज्यवादका विरुद्ध भण्डाफोर गर्ने उद्देश्यका साथ चुनावलाई उपयोग गरिएको राजमोका महामन्त्री मनोज भट्टले बताए। जनमोर्चाले यस निर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ गतेको निर्वाचनमा लामिछाने अत्याधिक मतका साथ विजयी भएका थिए । उनले ४९ हजार २६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्प्रर्धी तत्कालिन राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । फेरी लामिछाने राहादानी दुरुपयोग सम्बन्धी विवादमा मुछिएका छन् ।

बैशाख १० गतेका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राप्रपाको तर्फबाट जिवलाल पुरीले उम्मेद्वारी दिँदैछन् । लामिछानेले यसअघि नै उमेद्वारी दिएर तनहुँ प्रस्थान गरेका छन्।