आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले केहीबेरअघिको सुनुवाइपछि यो आदेश गरेको हो।
कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य चुडामणि शर्मा अनि सदस्य सचिवको भूमिकामा रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले ९ वर्ष कैद सजाय सुनाएको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध कर फर्स्योट प्रकरण र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा चलाएको थियो। विशेष अदालतबाट कर फर्स्योट प्रकरणमा उनी दोषी ठहर भएका थिए भने अकुत सम्पत्ति आर्जनको अभियोगमा सफाइ पाएका थिए।
शर्माले सरकारी सेवामा रहँदाको अवधिभर ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ।