अछाममा छाउ गोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
पञ्चदेवल विनायक नगरपालिका–२ रिठे तोलाकी १६ वर्षीया किशोरी सोमबार राति बलात्कारमा परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १७ वर्षीय किशोर पक्राउ परेका छन्।
छाउगोठमा अचेत अवस्थामा फेला परेकी ती किशोरीको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पु¥याएपछि बलात्कारको घटना बाहिरिएको हो।
‘छाउगोठमा किशोरी बेहोस रहेको सूचनापछि जनप्रतिनिधि र प्रहरी टोलीले उनलाई उद्धार गरेर अस्पताल लगेको थियो। अस्पतालमा होस आएपछि पीडित किशोरीले आफूमाथि बलात्कार भएको बयान दिएकी छन्,’ जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले नेपालखबरसँग भने, ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।’
पीडित किशोरी र पक्राउ परेका बलात्कार आरोपी १७ वर्षीय किशोरको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षण गरिएको छ। तर, स्वास्थ्य परीक्षण रिपोर्ट नआएको प्रहरीको भनाइ छ।
पीडित किशोरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आरोपित किशोर अहिले प्रहरीको हिरासतमा छन्। सोमबार राति २ बजेतिर शौच गर्न बाहिर आएको बेला आफूमाथि बलात्कार भएको किशोरीले बताएकी छन्।
‘पिसाब गर्न गएका बेला ती किशोरले आक्रमण गरे। अरु मान्छे पनि बोलेको आवाज सुनिँदै थियो। किशोरको आक्रमणपछि बेहोस भए। त्यसपछि के के भयो केही थाहा छैन,’ पीडित किशोरीको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।
आरोपित किशोरलाई हिरासतमा राखेर उनीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पीडित किशोरीको घर पञ्चदेवल विनायक नगरपालिका–६ मा छ।
पञ्चदेवल विनायक–२ मा उनी मामा घरमा बस्दै आएकी थिइन्। आमा बितेपछि उनका बुवा अर्को बिहे गरेर भारतमा बस्दै आएका छन्। मामा–माइजु पनि कामको शिलशिलामा भारतमा छन्। किशोरी र तिनका भाइ मात्रै मामा घरमा बस्दै आएका थिए।
किशोरी बेहासको सूचनापछि पञ्चदेवल विनायकका नगरपालिकाका प्रमुख अम्बिका चलाउनेलगायत जनप्रतिनिधि कार्यपालिका बैठक स्थगन गरेर मंगलबार बिहान घटनास्थल पुगेका थिए। किशोरीको उद्धारपछि उनी बस्ने छाउगोठ भत्काइएको छ।
‘त्यहाँ अन्य छाउगोठ छैन। गाउँलेहरु बाख्रा बाध्न त्यो टहरा बनाएको भन्छन्। त्यो टोलका महिला रजश्वला भएका बेला त्यहाँ बस्दा रहेछन्,’ नगरप्रमुख चलाउने भन्छिन्, ‘हामी पुग्दा किशोरी अचेत थिइन्। रुने, झस्किने गरिरहेकी थिइन्।’
गाउँले र छरछिमेकीले किशोरीलाई छारे रोग भएको भन्दै कसैलाई खबर नगरेको बताएका थिए।
यसअघि पनि यस्तै गर्ने र पछि आफैँ निको हुने हुनाले सन्चो हुने विश्वासले कसैलाई खबर नगरेको गाउँलेहरुले बताएका थिए।
‘गाउँलेहरुले अगाडि पनि यस्तै हुन्थ्यो। केही समयपछि निको भइहाल्थ्यो। त्यसैले कसैलाई नभनेका हौँ भनेर भन्दै हुनुहुन्थ्यो,’ नगर प्रमुख चलाउने भन्छिन्, ‘तर उहाँहरुले ढाट्नु भएको रहेछ। अस्पताल पुगेर होस आएपछि किशोरीले बलात्कार भएको भनेकी छन्।’