गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पहिरोमा पुरिएको घर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको भएको खुलेको छ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार  गएराति १ बजे घरमाथिबाट खसेको पहिरोले घर  पुरिएर उपाध्यक्ष रविनका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, सानीआमा ४८ वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी (९ वर्षीया गंगा र जमुना) को मृत्य भएको हो।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते भएका छन्। गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।