आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।
वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।
यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो। यातायात विभागले अनलाइनमार्फत बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ।
त्यस्तै चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण राख्नुपर्ने, अनाधिकृत काउन्टरबाट टिकट बिक्री नगर्ने निर्णय गरिएको छ।
त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय समेत गरिएको छ। लामो दूरीका सार्वजनिक सवारीमा भने कम्तिमा दुई जना चालक राख्नुपर्न निर्णयसमेत भएको यातायात विभागले जनाएको छ।