नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नौ किलो भन्ने ठाउँको सडक आइतबार भासिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु गरिएको छ।