चितवनको नारायणी नदी किनारमा भोलिबाट राष्ट्रिय चिया प्रदर्शनी तथा चिया टेस्टीङ्ग कार्यक्रम हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सहआयोजनामा दुईदिन सम्म चल्ने प्रर्दशनीको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपालमा दोस्रो पटक र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा देशभरका विभिन्न जिल्लामा उत्पादित चियाका ३२ वटा स्टलहरु रहनेछन् भने १०० बढी चिया व्यवसायीहरुको सहभागिता रहने प्रर्दशनी प्रदर्शनीमा नेपालका विभिन्न फर्म, व्यवसायी, समूह र सहकारीबाट उत्पादित चियाको टेस्टिङ गर्नुको साथै स्वाद र गुणस्तरका हिसाबले उत्कृष्ट चिया व्यवसायीहरुलाई सम्मान गर्ने जनाइएको छ ।

नेपाली चियाको आन्तरिक बजार प्रवद्धनका लागि हुन लागेको प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने राष्ट्रिय चिया तथा कफी बोर्डले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । देशभित्रै चियाको खपत बढाउने र यसका फाइदाका बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताए ।

इलामका तत्कालिन बडाहाकिम गजराज सिंह थापाले विसं १९२० मा इलाममा चिया रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । विसं २०३९ सालमा राजा विरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्थुमलगायतका जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यवसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट तीन अर्ब ९३ करोड ७२ लाख रुपैयाँको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात भएको थियो ।

‘स्वेदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।