प्रहरीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुन तस्करीको अभियोगमा पुनलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन्।
गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो। हिजो गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ।
उनी नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् । पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ललितपुरको झम्सीखेलबाट केही बेर अघि पक्राउ गरेको हो।