नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ।

हिजो (आइतबार) मात्र उनी राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए। केहीबेर त्यहाँका कर्मचारीसँग भलाकुसरी गरेर निस्किएका थिए। उनले योजना आयोगमै बुझाएको राजीनामाको निवेदन सनाखत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरिएको छ।

राजीनामा स्वीकृत हुन भने बाँकी रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले नेपालखबरसँग बताएका छन्।

मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए। ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए।

अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो।

गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो।

अदालतबाट सफाइ पाएको पत्र लिएर उनी कात्तिक २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए। उनको दरबन्दी योजना आयोग सारेर नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई बढुवा गरिसकिएकाले उनले त्यहाँ हाजिर गर्न पाउने अवस्था थिएन।

त्यसपछि उनले योजना आयोगका लागि रमाना बुझेका थिए।