पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन्।
कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
ढुंगानाको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली पनि सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
ढुंगानाको अन्त्येष्टि आजै दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी छ।
सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए।