पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।

घर सम्पन्नको प्रमाणपत्र दिने क्रममा पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया पक्राउपछि अनुसन्धान तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा शाखाकै अर्का इन्जिनियर शिवराज बराल पक्राउ परेका हुन्।यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।