नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।

उक्त बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेमा महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।बैठकमा अध्यक्ष ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल नहुने बताए ।

आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यो इतिहासको चक्र पछाडि फर्कनेवाला छैन । लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन् । संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुनसक्छ । तर यस समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनस्र्थापना हुनै सक्दैन’, उनले भने ।

एमाले अध्यक्ष ओलीले प्रियतावादी र दक्षिणपन्थी शक्तिले पाएको मत नेपाली राजनीतिमा विवेचनायोग्य घटनाक्रम भएको धारणा राखेका छन् ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यसैस्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।’-onlinekhabar