नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’को तयारी पूरा भएको छ। नारायणी नदी किनारमा हुने महोत्सवको तयारी सकिएसँगै आज लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबाट उद्घाटन गर्ने तयारी भएको महोत्सव मूल समारोह समितिका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए।
महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट महोत्सवस्थलसम्म झाँकीसहित बृहत् र्याली निकालिने उनले बताए। महासंघअन्तर्गत जिल्लाको सबै पालिकामा नगरसमितिलाई र्यालीमा उपस्थित हुन आग्रह गरिएको उनले बताए। र्यालीमा १७ जातिको सहभागीता रहने आयोजकले जनाएको छ। २०७८ सालको जनगणनाअनुसार चितवनमा आदिवासी जनजातिका ३९ जातिसहित तीन लाख ३२ हजारभन्दा माथि जनसङ्ख्या छ।
त्यसमध्ये १७ जाति संगठित भएर महासंघमा आवद्ध छन्। करिब तीन सय वटा व्यवसायिक प्रदर्शनी कक्ष निर्माण गरिएको महोत्सवमा प्रमुख आकर्षणको रूपमा आदिवासी जनजाति परिसर निर्माण गरिएको छ। उक्त परिसरमा ११ वटा जातजातिले साँस्कृतिक घर बनाएका छन्।
ती घरभित्र आदिवासी जनजाति समुदायले दैनिक प्रयोग गर्ने गरेका सामग्रीसमेत प्रदर्शन गरिएको छ। महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउनको लागि पनि पुराना सामग्री प्रदर्शनमा राखिएको मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए। यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ।
संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवद्र्धनको लागि पनि महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए। पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब एक करोड रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ। महोत्सव सम्पन्न गर्नको लागि करिब ८० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ। महोत्सवमा आदिवासी जनजातिका परिषरसँगै व्यापारिक कक्ष, बालउद्यानसमेत निर्माण गरिएको छ। आदिवासी जनजातिका सबै समुदायको साँस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवको साँस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर)ले जानकारी दिए।
उनका अनुसार हरेक दिन हरेक जातिको साँस्कृतिक प्रस्तुतले मञ्च तताउने छ। त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गर्नेछन्।