नक्कली फेसबुक आईडीमार्फत विभिन्न प्रलोभन देखाएर लाखौं ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी घर भई हाल काठमाडौं चन्द्रागिरी बस्दै आएका ३० वर्षीय रुद्रबहादुर गुरुङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी गुरुङलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयका अनुसार गुरुङ सबैभन्दा पहिले फेसबुकमा नक्कली आईडी बनाउँथे । त्यसपछि युवतीहरूलाई एड गर्थे । कुरा गर्दै जाँदा आफू फ्रान्स, सिङ्गापुर लगायतका देशको लाहुरे भएको विश्वास दिलाउँथे ।
यसरी कुरा गर्दै गएपछि आफूले युवतीलाई मन पराउने भन्दै बिहे गरेर विदेश लैजान्छु भन्थे । युवती विश्वस्त भइसकेपछि कागजात बनाउनुपर्ने भन्दै पैसा माग्थे । पैसा माग्न काठमाडौंका विभिन्न स्थानमा युवती बोलाउँथे । अनि चेक मार्फत रकम लिन्थे ।
यसरी उनले एक महिलाबाट चेकमार्फत १६ लाख ८३ हजार रुपैयाँ बढी र वालेटहरूबाट १० लाख ९९ हजार रुपैयाँ बढी गरी कूल २७ लाख रुपैयाँ बढी लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रकम लिएपछि उनी सम्पर्कविहीन हुन्थे । युवक लामो समयसम्म हराएपछि युवतीले आफू ठगिएको महसुस गरी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा रुद्र बहादुर गुरुङको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।-techpana