बझाङमा ९३ वटै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम चैनपुरमा जम्मा गरिएका छन्। विकट साइपाल क्षेत्रका काडा, धुली र यारङकुरीको मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान ल्याइएका हुन्।
सबै मतपेटिका सदरमुकाम पुगेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार अहिले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ।
बैठकले मत गणनाका विषयमा निर्णय गर्नेछ।
प्रदेश सभा सदस्य चयनका लागि शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क) मा मतदान भएको थियो।
जिल्ला अदालतस्थित मतगणनास्थलमा गणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तारजाली निर्माण गर्नेदेखि सीसीटीभी जडानलगायत सम्पूर्ण तयारी पूरा भएको हो। मत गणना सुरु भएपछि चरण चरणमा परिणाम माइकिङ गर्ने प्रबन्ध मिलाइएको छ।
बझाङ १(१) मा ४९ प्रतिशत मत खसेको थियो। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो।