केन्द्रको सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ।
केन्द्रमा माओवादी केन्द्रसहितका दलसँगको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा बसिरहनु उचित नभएको कारण राजीनामा दिन लागिएको कांग्रेसका मन्त्रीहरुले बताएका छन्।
‘हाम्रो संसदीय दलका नेता अर्थमन्त्री ज्यू काठमाडौँ जानु भएको छ। आज बिहान ९ बजे उहाँ काठमाडौँमा पुग्नु हुनेछ। त्यसपछि हामी प्रदेशको राजधानी हेटौँडा आएर राजीनामा दिने तयारीमा छौँ’, कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता एवं प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले भने, ‘बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका हामी ६ जना मन्त्रीले नै राजीनामा दिने छौँ।’
बागमतीमा १२ सदस्यीय मन्त्रीपरिदमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी गरी कांग्रेसका ६ मन्त्री छन्।
अर्थ मन्त्री बहादुर सिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए भने वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए। -nepalkhabar