एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर सार्ने प्रक्रिया ‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससिले) अनलाइन गर्न लागेको हो।यस अघि एउटा डिम्याट खाताबाट अर्को खातामा शेयर सार्न झन्झटिलो प्रक्रिया रहेको थियो।

कुनै पनि व्यक्तिले दुई वटा मात्रै डिम्याट खाता खोल्न सक्छन्। दुई मध्ये जुन सुकै खातामा शेयर सार्न अहिले लगानीकर्ताले तीन ठाउँमा दौडा दौड गर्नु पर्ने छैन। अहिले एउटा खाताबाट अर्को खातामा शेयर सार्न अनिवार्य रुपमा तीन ठाउँमा पुग्नै पर्छ। तीन ठाउँको अनुमति नलिएसम्म शेयर एउटा खाताबाट अर्को खातामा सर्दैन। त्यो पनि एकै दिनमा त्यो प्रक्रिया सक्नु पर्छ। नसकिए अर्को दिन पुनः सुरुबाटै प्रक्रिया थाल्नु पर्छ।

“एक खाताबाट अर्को खातामा शेयर सार्न सबैभन्दा पहिले जुन डिम्याट खाताबाट शेयर सार्न लागिएको हो। त्यही निक्षेप सदस्यको कार्यालयमा जानु पर्छ। कार्यालयले शेयर सार्ने फारम उपलब्ध गराउँछ। उक्त फारम भरेर दिएपछि कम्पनीले अनुमति दिन्छ। उसले दिएको अनुमति पत्र लिएर जुन डिम्याट खातामा सार्ने हो, त्यही निक्षेप सदस्यकोमा जानु पर्छ। उसले दिएको अनुमति लिएर सिडिएससि जानु पर्छ। उसले अनुमति दिएपछि प्रक्रिया सकिन्छ। तर यो प्रक्रिया एकै दिनमा सक्नु पर्छ भने जुन व्यक्तिको शेयर खाता हो उसैको खातामा मात्रै शेयर सार्न सकिन्छ। अन्यथा अरूकोमा भने सार्न सकिँदैन” दीपशिखा धितोपत्र कारोबार कम्पनीका सञ्चालक दीपकराज ओलीले भने।

एकै दिनमा शेयर सार्नै पर्ने कारण चाहिँ शेयर कागजी रुपमा हुँदैन। डाटाको रुपमा हुन्छ। एकै दिन सकिएन भने त्यो शेयर एक दिन कता हरायो भन्ने हुन्छ। जसका कारण एकै दिनमा शेयर सार्नै पर्ने बाध्यता रहेको सिडिएससिले जनाएको छ।

यही अनुरोध पत्र लिएर हरेक दिन सिडिएससिमा ५० देखि ६० वटासम्म निवेदन आउने गरेका छन्। जसले गर्दा लगानीकर्तालाई असहज हुँदै आएको छ। सोही असहजतालाई मध्यनजर गर्दै बिओ टु बिओ शेयर ट्रान्सफर अनलाइन गर्न लागिएको बताइएको छ। “अहिले हामी कहा दैनिक ५०/६० वटा निवेदन आउने गरेका छन्। फेरि लगानीकर्ताले तीन ठाउँ एकै दिन घुम्नै पर्ने बाध्यता छ। त्यसले गर्दा पनि यसलाई अनलाइन गर्न लागिएको हो,” सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने।

आचार्यका अनुसार अहिले सफ्टवेयरको काम भइरहेको छ। तयार भए लगत्तै लगानीकर्ताले सो सुविधा पाउने छन्। जसले लगानीकर्तालाई एकै दिनमा काम सकाउनु पर्ने बाध्यता हुने छैन भने घरैबाट काम गर्न सजिलो हुने छ।

तर जसरी सजिलो हुने भनिएको छ। त्यसको दुरुपयोग  हुन सक्ने आशङ्का भने ब्रोकर कम्पनीको रहेको छ। कसैले बदनियत राखेर एउटाबाट शेयर किनेर अनलाइन मार्फत अर्को ब्रोकर कम्पनीबाट बिक्री गरिदिए ब्रोकर कम्पनी नोक्सानीमा पर्न सक्ने आशङ्का ब्रोकर कम्पनीको छ। त्यसैले गर्दा  त्यस्ताे अवस्था आउन नदिन सफ्टवेयर बनाउँदै बिचार गर्नु पर्ने सुझाव एक ब्रोकर कम्पनीका सञ्चालकको छ।-merolagani