गेटबाट भित्र पुग्दा ह्वास्सै गन्ध आयो । वरिपरि प्लास्टिक, फलामका विभिन्न सामानहरू छरपस्ट थिए । यसो हेरेपछि थाहा भयाे, दुर्गन्ध रेडबुलका खाली डिब्बाहरूबाट आएको रहेछ । अलि भित्र छिर्दा त्यो गन्ध हट्न थाल्यो । र, देखिन थाल्यो विभिन्न मेसिनरी चिज । अनि ह्यामरको ट्याङ्गट्याङ्ग आवाज पनि बाक्लिन थाल्यो ।

यसबेलासम्म अघि आएको गन्ध पूर्ण रूपमा हटिसकेको थियो । अब सहज महसुस भएर अचम्म पनि लागिरहेको थियो । किनकि त्यहाँ पुराना सामानहरूको रास थियो । त्यहाँ कसैले सामानहरू उठाइरहेका थिए । कसैले खन्याइरहेका थिए । केही महिलाहरूले कागजहरू छुट्याइरहेका थिए । कसैले विभिन्न डिभाइसहरू खोतलखातल पारिरहेका थिए ।

यो परिवेश हो, भक्तपुरको सानोठिमीमा अवस्थित डोको रिसाइक्लर्सको । विभिन्न प्रकारका फोहोरहरू व्यवस्थापन गर्न यो कम्पनी जमिसकेको छ । फोहोर व्यवस्थापन गर्न नेपालमा विभिन्न कम्पनी कार्यरत छन् । यस कम्पनीको विशेषता भने विद्युतीय फोहोरलाई समेत व्यवस्थापन गर्नु हो ।

डोको रिसाइकल्समा कागजहरू अलग्याउँदै महिला कर्मचारी डोको रिसाइकल्समा कागजहरू अलग्याउँदै महिला कर्मचारी

काम नलाग्ने कुनै पनि विद्युतीय डिभाइसलाई जब फ्याँकिन्छ, ती विद्युतीय फोहोरमा परिणत हुन्छ । ई-वेस्ट भनेर चिनिने यस प्रकारको फोहोरलाई विभिन्न दृष्टिकोणबाट हानिकारक मानिन्छ । संयुक्त राष्ट्र संघ अथवा अन्य संघ/संस्थाले यस प्रकार फोहोरलाई हानिकारक फोहोरमैला भनेर वर्गीकरण गरेका छन् । विद्युतीय फोहोर सामान्य जस्तो देखिए पनि तिनमा हानिकारक धातु हुन्छन् ।

जसलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा मानव शरीर, जीवजन्तु लगायत समग्र पर्यावरणमा नै असर पर्छ । फोन, ल्यापटप, कम्प्युटर सीपीयू, फ्रिज, वासिङ मसिन, एसी लगायत विभिन्न प्रकारका विद्युतीय सामग्री बिग्रेपछि अथवा काम नलाग्ने भएपछि नै विद्युतीय फोहोर हुन्छन् । सामान्य अर्थमा बुझ्दा नयाँ किनेको डिभाइस नै कालान्तरमा विद्युतीय फोहोरका स्रोत हुन् ।

काम नलाग्ने भएपछि फ्यालिएका तिनै विद्युतीय सामग्रीलाई डोको रिसाइक्लर्सले व्यवस्थापन गर्ने गर्छ । त्यसरी फ्याँकेका विद्युतीय फोहोरको जीवन त्यसपछि के हुन्छ भनेर यहाँ थाहा पाउन सकिने डोको रिसाइक्लर्सकी अपरेसन म्यानेजर सावित्रा कार्की बताउँछिन् । अर्थात् फ्याँकिएका डिभाइसको अर्को जीवन यहाँ देख्न पाइने उनको भनाइ छ ।

उनका अनुसार कुनै पनि कर्पोरेट कार्यालय अथवा घर-परिवारले आफूलाई नचाहिने विद्युतीय सामान डोको रिसाइक्लर्सलाई उपलब्ध गराउँछ । यसका लागि कम्पनीले वेबसाइट, सामाजिक सञ्जाल र फोन नम्बरको व्यवस्था गरेको छ । त्यसपछि कम्पनीले उक्त ठाउँमा आफ्नो पिकअप टिम पठाउँछ ।

उनीहरूले गोदाममा सामान ल्याएपछि सबैभन्दा पहिला ती सामग्रीलाई पुन: प्रयोग गर्न सकिन्छ/सकिँदैन भनेर परीक्षण गर्ने काम हुन्छ । यसका साथै विभिन्न एक्सचेन्ज कार्यक्रमहरूबाट समेत उनीहरूले विद्युतीय फोहोर सङ्कलन गर्छन् ।

प्राविधिकले मर्मत गर्दै पुराना ल्यापटप प्राविधिकले मर्मत गर्दै पुराना ल्यापटप

यदि अझै प्रयोग गर्न सकिने छ भने उनीहरूले त्यसलाई मर्मतसम्भार गर्छन् । कुनै पनि डिभाइस पुन: प्रयोग गर्न सकियोस् भन्ने सोचमा कम्पनी रहेको डोको रिसाइक्लर्सकी अपरेसन म्यानेजर कार्की बताउँछिन् । यदि प्राविधिकहरूले प्रयोग गर्न सकिन्न भन्ने निश्चित गरे ती सामग्रीलाई तोडमोड गर्न थालिन्छ ।

कतिपयले भने नयाँ डिभाइस राखेपछि पुराना मोडलका, तर चलिरहेका डिभाइस समेत डोको रिसाइक्लर्सलाई पठाइदिने गरेका छन् । त्यस्ता डिभाइस र मर्मत गरेर चल्ने बनाएका डिभाइसलाई उनीहरूले सेकेन्ड ह्यान्ड मार्केटमा बेच्न तयार गर्छन् । जसलाई ‘रिफर्बिस्ड डिभाइस’ पनि भन्न सकिन्छ ।

सबैले नयाँ डिभाइस नै किन्न नसक्ने र रिफर्बिस्ड सामान कारण विद्युतीय फोहोर कम गर्न सकिने भएकाले त्यसो गरिरहेको उनी सुनाउँछिन् । त्यस्तै रिफर्बिस्ड सामग्री बेच्न उनीहरूले डोको शप नामक आफ्नै ईकर्मस साइट पनि तयार पारेका छन् । जहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, विद्युतीय किट्ली, मोनिटर, एसी, फ्रिज लगायतका रिफर्बिस्ड डिभाइस किन्न सकिन्छ । त्यसो हुँदा किन्नेले पनि कममा किन्न पाउँछन् र नयाँ आयात गर्ने पैसा पनि बचाउन पाइन्छ ।

त्यसरी पुराना डिभाइसलाई नयाँ जस्तो बनाउँदा आवश्यक पर्ने सामग्री भेटिँदैनन् । त्यसका लागि आवश्यक पर्ने कम्पोनेन्ट उनीहरूले आफैं किन्ने पनि गरेका छन् । त्यस्ता डिभाइस भने धेरैजसो व्यक्तिगत सेवाग्राहीले भन्दा पनि व्यापारीले लाने कम्पनीका ई-वेस्ट हेड सन्तोष कुमार महतो बताउँछन् ।

यसकारण ल्यापटप/कम्प्युटर नयाँ/पुरानो थाहा पाउन भिजुअल हेर्नु पर्ने, उत्पादन भएको मिति हेर्नु पर्ने, मूल्य हेर्नु पर्ने उनी बताउँछन् । र्‍याम र सीपीयू भने नयाँ र पुरानोमा हेर्दा उस्तै देखिने भएकाले अलि सचेत हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि प्रोसेसिङ क्षमता हेर्नुपर्ने उनको सुझाव छ । यदि सीपीयू पुरानो राखिएको छ भने प्रोसेसिङ क्षमता ढिलो हुने उनी बताउँछन् ।

निकै पुराना मोडलका विद्युतीय सामग्री निकै पुराना मोडलका विद्युतीय सामग्री

यसबाहेक डोको रिसाइक्लर्सले पुराना विद्युतीय सामग्री पनि सङ्कलन गरिरहेको छ । कम्पनीका ई-वेस्ट हेड महतोका अनुसारए एन्टिक भन्न मिल्ने पुराना मोडलका टेलिभिजन, क्यासेट, टाइपराइटर, टेलिफोन जस्ता डिभाइस थुप्रै रहेका छन् । ती भने पुन: प्रयोगमा नआउने बरु डेकोरेसनका लागि प्रयोग गर्न सकिने उनी बताउँछन् । अहिले रेस्टुरेन्ट र विदेशी नागरिकहरूले त्यस्ता सामान लगिरहेको उनको भनाइ छ ।

“त्यस्ता सामानहरूलाई राखेर सानो सङ्ग्रहालय बनाउने हाम्रो योजना छ । तर मान्छेहरूले माग गरेका कारण बिक्री पनि गरिरहेका छ,” उनी भन्छन्, “भविष्यमा भने सानो आकारको भए पनि सङ्ग्रहालय बन्छ ।”

अरूबाट लिने मात्र नभएर प्रयोग नहुने सामग्रीलाई डिस्पोज गर्न समेत डोको रिसाइक्लर्सले सेवा दिने गर्छ । कुनै कम्पनीमा भएका डिजिटल सामग्री डिस्पोज गर्न परे केही पैसा लिएर उनीहरूले त्यसो गर्ने गर्छन् । यसका साथै ती डिभाइसहरू डिस्पोज गरेको भनेर डोको रिसाइक्लर्सले सम्बन्धित कम्पनीलाई प्रमाणपत्र समेत दिने महतो बताउँछन् ।

“एउटा ल्यापटप डिस्पोज गरेको ४५० रुपैयाँ लिने गरेका छौं । अनि प्रमाणपत्रमा यति केजी ई-वेस्ट दिनु भएबापत तपाईंले यति केजी ग्याँस वातावरणमा जानबाट बचाउनु भयो, यति ऊर्जा/तेल/जमिन जोगाउनु भयो भनेर उल्लेख गरिएको हुन्छ ।” उनी भन्छन् ।

विद्युतीय फोहोर डिस्पोज गर्न सामान टुक्य्राउँदै कर्मचारी विद्युतीय फोहोर डिस्पोज गर्न सामान टुक्य्राउँदै कर्मचारी

सामान्यत: एउटा ल्यापटप डिस्पोज गर्नु परे डोको रिसाइक्लर्सका प्राविधिकले सबैभन्दा पहिला अनस्क्रू गर्छन् । त्यसपछि क्रमश: स्क्रिन, बोर्ड, हार्ड डिस्क, र्‍याम अलग अलग निकाल्छन् । बोर्ड र र्‍यामलाई स्रेडिङ मसिनबाट टुक्रा टुक्रा पार्छन् । डार्क डिस्कलाई हातैले ग्रान्डिङ र ड्रिलिङ गर्छन् । बाँकी बचेका प्लास्टिक र फलामका सामग्रीलाई सम्बन्धीत उद्योगमा पठाउँछन् ।

महतोका अनुसार प्लास्टिकबाट प्रति केजी दुई/तीन रुपैयाँ र फलामबाट ४०/५० रुपैयाँ प्रति केजी आउने गर्छ । तर डिभाइस अनुसार डिस्पोज गर्ने तरिका फरक हुने उनको भनाइ छ । जस्तो: ट्युबलाइटमा पारो हुने भएकाले सुरक्षित तरिका अपनाउने गरेका छन् । यसका लगि अमेरिकाबाट बल बिटर नामक मसिन ल्याएका छन् । त्यस मसिनलाई ट्युबलाइट रिफर्बिस्ड गर्न मात्र प्रयोग गरिन्छ ।

ट्युबलाइट रिफर्बिस्ड गर्ने मसिन ट्युबलाइट रिफर्बिस्ड गर्ने मसिन

त्यस्तै डिभाइससँगै आउने विभिन्न प्रकार केवललाई व्यवस्थापन गर्न केबल ग्रेन्युलेटर्स नामक मसिन प्रयोग गर्छन् । जसले केवलमा हुने तामा वा आल्मुनियम र प्लास्टिकलाई अलग्याउन सजिलो बनाउने गर्छ ।

यसरी विद्युतीय फोहोर सङ्कलन गर्ने, तिनलाई व्यवस्थापन गर्ने, चल्न सक्ने पुराना डिभाइसलाई मर्मत गरेर पुन: प्रयोग ल्याउने डोको रिकाइकल्स सन् २०१७ मा सुरु भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पङ्कज पञ्जियार सहित अन्य चार जनाले यसलाई खोलेका हुन् ।

उनीहरू पहिल्यैदेखि एकअर्कासँग कतै न कतै जोडिएका थिए । ती मध्ये पनि  पञ्जियार सहित अन्य दुई जना त सँगै इन्जिनियरिङ पढेका हुन् । यो सब उनीहरू विदेशमा हुँदाकै कुरा हो । त्यही बिचमा नेपाल फर्केर केही गर्ने सोच उनीहरूलाई आयो । ठ्याक्कै के गर्ने योजना थिएन । उनीहरूलाई भने तल्लो तप्कालाई पनि प्रभाव पार्ने केही गरौं भन्ने थियो ।

त्यस्तैमा कतै केही नयाँ विचार आउँछ कि भनेर उनीहरूले काठमाडौंं चहारे । उनीहरूको सोच थियो, कतै समस्या भेटियो भने समाधान निकालेर त्यसैमा व्यापार गर्न सकिन्छ । त्यहीबिच उनीहरूले फोहोरमैला व्यवस्थापनमा ठूलो समस्या देखे । मान्छेहरूले त्यसमा काम गरिरहेको पाएता पनि केही समस्या भइरहेको चाल पाए ।

कम्पनीका सीईओ पङ्कज पञ्जियार कम्पनीका सीईओ पङ्कज पञ्जियार

त्यही माथि सीईओ पञ्जियार इलेक्ट्रोनिक इन्जिनियर हुन् । सायद त्यही कुराले हुन सक्छ उनलाई विद्युतीय फोहोरमाथि आकर्षण जाग्यो । फेरी त्यससमयसम्म यस क्षेत्रलाई लिएर कसैले पनि काम गरिरहेका थिएनन् । यता विदेशमा हुँदा यसबारे राम्ररी काम भएको उनीहरूले राम्रैसँग देखेका थिए । त्यसपछि यसैमा काम गर्ने भनेर उनीहरूको सहमति भयो । र, जन्म्यो डोको रिसाइक्लर्स ।

सुरुमा विद्युतीय फोहोरलाई केन्द्रमा राखेर काम गरेपनि अहिले भने अन्य फोहोरमाथि पनि उनीहरूले काम थालेका छन् । समग्रमा अहिले उनीहरू जुनै प्रकारका फोहोर व्यवस्थापन गर्ने कम्पनी हुन् । पञ्जियार  स्वयं हाम्रो शरीरका लागि निकै हानिकारक  मानिएका १७ प्रकारका धातु मोबाइलमा हुने बताउँछन् । यदि तिनलाई व्यवस्थित गरिकाले विस्थापन गरिएन भने वातावरणमा पनि ठूलो असर पार्ने उनको भनाइ छ ।

“संयुक्त राष्ट्र संघले जारी गरेको यस वर्षको तथ्याङ्क अनुसार नेपालमा ४२ हजार मेट्रिक टन विद्युतीय फोहोर निक्लिएको छ । त्यसको औसत वृद्धि दर १० प्रतिशत माथि छ,” उनी भन्छन्,
“यसको अर्थ बिना सावधानी त्यति धेरै विद्युतीय फोहोर नेपालमा वर्षेनी फ्याँकिरहेका छौं । जुन भयावह र चुनौतीपूर्ण स्थिति हो ।”

उनकै भाषामा धेरैले विद्युतीय फोहोर हानिकारक छ भनेर बुझेका छैनन् । त्यसैलाई केही मात्रामा भए पनि आफूहरूले व्यवस्थापन गर्न खोजिरहेको उनी बताउँछन् । तर जनचेतना, कानून र पर्याप्त प्रविधि नहुँदा भने जसर काम गर्न नसकेको उनको बुझाइ छ ।

विद्युतीय फोहोरलाई व्यवस्थापन गर्न सबैभन्दा पहिला जनचेतना चाहिन्छ । यो अन्य प्रकारका फोहोरमैला भन्दा भिन्न रहेको तर हानिकारक हुन्छ भन्ने कुरा सबैभन्दा पहिला बुझ्नु पर्ने उनी बताउँछन् ।

त्यस्तै उनी नेपालमा विद्युतीय फोहोर सम्बन्धी कुनै कानून नबनेकाले पनि समस्या भइरहेको धारणा राख्छन् । कानूनको अभाव हुँदा नेपालमा विद्युतीय फोहोरको सहि तरिकाले व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । यसका साथै यस प्रकारका फोहोरलाई व्यवस्थापन गर्ने उपर्युक्त प्रविधि नभएको उनको ठम्याइ छ । जसले गर्दा विद्युतीय फोहोरलाई सही तरिकाले छिटो व्यवस्थापन गर्न गाह्रो भइरहेको उनी जनाउँछन् ।

रिफर्बिस्ड गरेर तयार पारिका विद्युती सामग्री रिफर्बिस्ड गरेर तयार पारिका विद्युती सामग्री

उनी आफैं कम्पनीको सुरुवाती दिन सम्झन्छन् । त्यसबेला छ महिना लगाएर उनीहरूले जम्मा ४००/५०० किलोग्राम विद्युतीय फोहोर सङ्कलन गरेका थिए । जुन तुलनात्मक रूपमा धेरै कम हो । तर अङ्कमा नअड्की उनीहरू निरन्तर अघि बढ्दै गए ।

विद्युतीय फोहोरबारे सचेतना बढाउन विभिन्न अभियान चलाए । फलस्वरूप उनीहरूले सङ्कलन गर्ने विद्युतीय फोहोरको मात्रा पनि बढ्दै गयो । हाल उनीहरूले वार्षिक ३०० देखि ६०० टनसम्म विद्युतीय फोहोर सङ्कलन गर्न सकिरहेका छन् ।

अहिले डोको रिसाइक्लर्सको कुल आम्दानीमध्ये २५ प्रतिशत विद्युतीय फोहोरबाट आइरहेको उनी बताउँछन् । त्यसमा पनि रिफर्बिस्ड सामग्रीबाट आउने आम्दानीको अङ्क उच्च भएको उनको भनाइ छ ।

वातावरण जोगाउने मात्र नभएर उनीहरूले कुल ६० भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगार पनि दिइरहेका छन् । कम्पनीमा विद्युतीय फोहोर केन्द्रित जनशक्ति मात्रै १५ जना रहेका छन् । अब भविष्यमा काठमाडौंमा सीमित भएको कम्पनीलाई नेपालभर विस्तार गर्ने र रिसाइकलको उद्योग स्थापन गर्ने लक्ष्य रहेको उनी बताउँछन् । -teckpana baa