नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका छन्। शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यहाँको विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताएका हुन्।
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले,सरकारले विभिन्न विषयमा विज्ञहरु बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए ।
उनले सरकारले बनाएका योजना, नीतिहरुमा त्रुटि भए सच्याउन जरुरी रहेको बताए । उनले परिणाम किन निस्किएन भन्नेबारेमा समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले जनताको आलोचनालाई कदर गरेर अघि बढ्न सुझाव दिए । उनले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताए ।
उनले भने,‘हाम्रो देश प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको देश पनि हो । तालैताल, नदीनालाहरु, वनस्पतिहरु, चराचुरुंगीहरुदेखि लिएर अनेक जाति, जनजातिहरुले भरिएको । अनेकौँ भाषा र संस्कृतिले भरिएको यो देश नेपाल आफैँमा पनि गौरवशाली देश हो । चितवनमा पनि ति विविधता देख्ने गर्दछौँ । भरतपुर महानगरपालिकालाई अघि बढाउन तपाईहरुले जुन प्रयत्न र प्रयास गर्दै हुनुहुन्छ, त्यो महत्त्वपूर्ण छ । हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ । विज्ञहरुलाई बोलाएर छलफल भएको छ । तर परिणाम आएको छैन । परिणाम कसरी पाउन सकिन्छ, हाम्रा नीति, योजना, काममा कहाँ त्रुटि छन् त्यसको समीक्षा गर्नुपर्छ । जनताका आलोचनालाई कदर गर्नुपर्छ ।’