भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ ।भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने भएका छन् ।

नेपाली कांग्रेस चितवनले पार्टी सभापति देउवाको स्वागतका लागि उपस्थित हुन सबै नेता/कार्यकर्तालाई आह्वान गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले सूचना जारी गरी भोलि बिहान साढे १० बजे भरतपुर विमानस्थलमा उपस्थित भएर केन्द्रीय सभापति देउवालाई स्वागत गर्न आह्वान गरेका हुन् ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ ।  भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्‍याली निकालिँदै छ ।