भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि आउने भएका छन् ।
भोलि उद्घाटन हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को र्यालीमा विद्यार्थी र शिक्षकलाई सहभागी गराउन भरतपुर महानगरपालिकाले सबै विद्यालयलाई आह्वान गरेको छ ।महानगरले ९ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थी र माध्यमिक तहका शिक्षकलाई र्यालीमा सहभागी गराउन सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।
वडास्तरको र्यालीमा विद्यालयको व्यानरसहित उपस्थित भएर कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्न महानगरले आह्वान गरेको हो ।
‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम राखिएको छ ।
भोलि बिहान ११ बजेदेखि विविध झाँकीसहितको र्याली सुरु हुने छ । दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने छन् ।भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ । उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्याली निकालिँदै छ ।