सिनामंगलस्थित एक होटलमा आइतबार एउटै सलको पासो लगाएर दम्पतीले आत्महत्या गर्नुको कारण ४ दिनसम्म रहस्यमय बनेको छ ।

सुनसरीको दुहवी- ८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी माझी सिनामंगलस्थित एक होटलमा आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनीहरू अघिल्लो दिन क्यानडाबाट कतार एयरलाइन्सको जहाजमार्फत् नेपाल आएको प्रहरीले बताएको थियो ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी वृत्त गौशालाका एक अनुसन्धानकर्मीका अनुसार उनीहरू दुवैको हातमा रगत लत्पतिएको थियो । उनीहरूले आत्महत्यापूर्व बायाँ हत्केलाको छाला ब्लेडले काटेका थिए । त्यसैले शुरूमा हत्केलाको नशा काटेर आत्महत्या प्रयास गरेको अनुमान प्रहरीको छ ।

‘नशा काटिन नपाउँदै दुखाई सहन सकेनन्, त्यसपछि घाँटीमा पासो लगाउने निर्णयमा पुगेको अनुमान गर्न सकिन्छ’, उनले भने ।

प्रहरीले उनीहरूलाई आइतबार बिहान साढे ७ बजे होटलको कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा एउटै पासोमा झुण्डिएको अवस्थामा फेला पार्दा उनीहरूको हातमा रगत लत्पतिएको भेटेको थियो । कोठाको झ्यालबाट उनीहरू आत्महत्या गर्न बार्दलीमा रहेको रेलिङमा पुगेका थिए ।

प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट सुसाइड नोट वा आत्महत्याको कारण खुल्ने कुनै चिज फेला पर्ने अनुमानका साथ अनुसन्धान गर्‍यो । तर, केही पनि भेटिएन ।

प्रहरीका अनुसार उनीहरूको कोठामा दुवैको राहदानी र केही जोर लुगामात्रै थिए । ‘त्यो अवस्थालाई हेर्दा उनीहरू विदेशबाट आएका हुन भन्ने कुरा पत्याउन सकिँदैन’, ती प्रहरी अधिकारीले भने ।

कोठाबाटै आइफोन, कपडा सिलाउने मेसिन र ल्यापटप पनि बरामद भएको प्रहरीले जनाएको छ । त्यसमध्ये आइफोनलाई थप अनुसन्धानको लागि केन्द्रीय प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

विदेशबाट घर फर्किएका मान्छेसँग सामान्यतया एक-एकवटा लगेज हुनुपर्नेमा उनीहरू सामान्य झोलामा फेरफारका कपडामात्रै बोकेर आएको देखिन्छ ।

अनुसन्धानरत प्रहरी अनुमान गर्दै भन्छन्, ‘यदि कुनै दुःख, पीडा थियो भने पनि त्यो विदेशमै हुँदा हुनुपर्छ, त्यहाँ पीडा व्यक्त गर्ने वा आत्महत्या गर्नेजस्ता वातावरण नपाएर काठमाडौं आएका हुनसक्छन् ।’

उनीहरू काठमाडौं आउँदै गरेको सूचना परिवारका कोही पनि सदस्यसँग थिएन । क्यानडामा उनीहरु लण्डन शहरमा बस्थे । आत्महत्यापछि त्यहाँ सँगै बस्ने र सँगै काममा जाने साथीहरूसँग परिवारका सदस्यको कुराकानी भयो ।

मृतक रमेशका भिनाजु नारद माझीका अनुसार क्यानडाका साथीहरुसँग पनि काठमाडौं जाने कुरा भनेका थिएनन् ।

‘घटना भएपछि क्यानडामा सँगै बस्ने उनीहरूको साथीले मलाई म्यासेन्जरमा कल गरे’, उनले भने, ‘उनीहरू पनि कसरी यस्तो भयो भनेर अचम्म मानिरहेका छन् ।’

नेपालस्थित परिवारमा त कुनै समस्या थिएन नै । क्यानडामा पनि साथीहरूले बुझ्दासम्म उनीहरुले आत्महत्या नै गर्नुपर्ने तहका समस्या वा तनावमा थिएनन् । नारदका अनुसार, शर्मिलाले केही दिनअघि सँगै काम गर्ने साथीलाई पतिको छाती दुख्ने कारण केही दिन ड्युटीमा नजाने बताएकी थिइन् ।

‘श्रीमानलाई सञ्चो नभएका कारण ड्युटीमा जान्नँ भनेपछि धेरै सोधखोज गरेनौं’, शर्मिलाकी साथीको कुरा उद्धृत गर्दै नारदले भने, ‘एक्कासी काठमाडौंमा आत्महत्या गरेको खबर सुनेपछि हामी पनि छाँगाबाट खसे झैँ भयौं ।’

रमेश स्नातक तहको अध्ययन सिध्याएर त्यहाँको स्थायी आवासीय सुविधा (पीआर) को प्रक्रियामा थिए ।

‘अब छिट्ट्रै पीआर बन्छ, त्यसपछि नेपाल फर्किन्छौं भनेका थिए’, नारदले भने ।-npress