हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
यतिबेला (बिहीबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।