मोरङमा सोमबार मृत भेटिएका सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) को ‘सुसाइड नोट’ फेला परेको छ।‘सुसाइड नोट’मा उनले आफ्नै कारण आत्माहत्या गरेको उल्लेख गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ। मेरो गुल्मका केटाहरु सोझा छन्। अनुसन्धानका नाममा दुःख नदिनू’, सुसाइड नोटमा उल्लेख गरिएको छ, ‘जिन्दीमा सोचेजस्तो केही गर्न सकिएन। विभागका लागि पनि खास केही गर्न सकिएन। मेरो कमाण्डमा त्यस्तो उल्लेख्य काम गर्न सकिँन। सबै राम्रोसँग बस्नू, सरी।’

यस्तै उनको परिवारसँग पनि सम्बन्ध राम्रै रहेको बुझिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए। मोरङको धनपालथान गाउँपालिका-३ स्थित सशस्त्र प्रहरी बलको गुल्मका प्रमुख समेत रहेका डीएसपी उपेन्द्र बस्याल सोमबार मृत फेला परेका थिए।

कार्यालय परिसरकै भान्सामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बस्यालको शव पोष्टमार्टमका लागि कोसी अस्पताल लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनी झुण्डिएको कोठा भित्रबाट बन्द गरिएको थियो।