राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा बसेका सबै नेताहरुलाई राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन शुभकामना दिदै सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन । उनले शीर्ष नेताहरु एउटै मञ्चमा रहेको विरलै दृश्य देखिएको भन्दै यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन शुभकामना दिए।

भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लामिछानेले मञ्चमा देखिएका सबै दलका शीर्ष नेताहरुलाई संकेत गर्दै उनले भने,‘यो मञ्च एकदमै शक्तिशाली देखिन्छ, कति शक्ति भएको जस्तो देखिन्छ। तर शक्ति यता होइन,उता छ। जुन दिन हामीलाई मञ्च तलको शक्ति थाहा हुन्छ। जुन दिन यहाँको शक्तिले त्यहाँको शक्तिलाई चिन्छ । त्यो दिन साँच्चि नै देशले मुहार फेर्नेछ।’

उनले भने,‘भ्रमण वर्षको सफलताको शुभकामना दिन चाहन्छु। विरलै देखिने शीर्ष नेताहरु एउटै मञ्चमा यो नेपाली जनताले अत्यन्तै कम देख्ने दृश्य हो। यो दृश्य यो देशको विकासका लागि आगामी पुस्ताको भविष्यका लागि यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन सकुन्, शुभकामना व्यक्त गर्न चाहन्छु।’ चितवन–२ बाट संसदका लागि निर्वाचित प्रतिनिधि भएको हिसाबमा यो क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको पनि उनले बताए।

लामिछानेले आफू भ्रमण वर्षको सफलताको लागि उपस्थित भएको बताए । उनले भरतपुर महानगरमा भएका राम्रा कामको आफूले प्रशंसा गर्ने बताए । उनले भने, ‘भरतपुर भ्रमणको लागि देश र विदेशका सबैलाई आव्हान गर्न चाहन्छु । सिंगो साथ, सहयोग का लागि भूमिका निर्वाह गर्न तयार छु ।’