राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ। मतदान फागुन २९ गते मंगलबार हुने छ।
दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताइन्।
समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहेका छन्।
राष्ट्रियसभा अध्यक्षका लागि दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।धमलाका अनुसार कार्यतालिका प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ।
फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो। रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन्।२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो। त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो।